तिलोत्तमा: एमालेको मत बढेपछि कांग्रेसको विरोध, मतगणना स्थगित

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ। यहाँ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईँ नगरप्रमुखको उम्मेदवार छन्।
रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन्। तिलोत्तमामा खाँण र चापागाईँ बीच कडा प्रतिस्पर्धा छ। कुनै बेला चापागाईँ त कुनै बेला खाँण झिनो मतान्तरले अघि-पछि भइरहेका छन्।
अहिले भने एमालेको मतपरिणाम केही अन्तरले बढ्न थालेपछि नेपाली कांग्रेसले विरोध जनाएको छ। अहिले मतगणना हुन सकेको छैन।
नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१६ का वडाध्यक्ष झविलाल भुसालले भने कर्मचारीले बाहिर सार्वजनिक गर्ने बेलामा वास्तविक मतभन्दा एमालेको धेरै मत बताएपछि मतगणना रोकिएको जानकारी दिए।
वडा नम्बर १६ र २ को मतगणना भइरहेको छ। अहिले मतगणनास्थल बाहिर नेपाली कांग्रेसले नाराबाजी गरिरहेका छन्।
जेठ ३, २०७९ मंगलबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।