पोखरामा गठबन्धनका मेयर-उपमेयरकै अग्रता फराकिलो हुँदै

पोखरामा गठबन्धनका मेयर-उपमेयरकै अग्रता फराकिलो हुँदै

पोखराः पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता फराकिलो बनाउँदै लगेका छन्। मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेका छन्।

महानगरमा २० हजार ६६० मत गणना हुँदा आचार्यले आठ हजार ५६३ मत प्राप्त गरेका छन्। एमालेका कृष्णबहादुर थापाले सात हजार २७८ मत पाएका छन्। मतान्तर एक हजार २८५ छ।

राप्रपाका शंकर खरालले एक हजार २७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले ५२६ मत पाएका छन्।

उपमेयरमा रानाभाटले आठ हजार ८७६ मत प्राप्त गरेकी छिन्। एमालेकी मञ्जुदेवी गुरुङले आठ हजार २७१ मत प्राप्त गरेकी छिन्। रानाभाटले गुरुङलाई ६०५ मतले उछिनेकी छिन्।

महानगरको वडा नं १ मा एमाले, वडा नम्बर २, ३, ४ र १२ मा कांग्रेस विजयी भएको छ।

महानगरमा अहिलेसम्म वडा नम्बर २३, २४, २५ र २६ को मतगणना चलिरहेको छ। महानगरका दुई लाख सात हजार ७१२ मतदातामध्ये शुक्रबार सम्पन्न मतदानमा एक लाख ४३ हजार २२६ मत खसेको थियो।

जेठ ३, २०७९ मंगलबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।