कीर्तिपुर नगरपालिकामा एमालेले दुई महिला सदस्य मात्र जित्यो

कीर्तिपुर नगरपालिकामा एमालेले दुई महिला सदस्य मात्र जित्यो

काठमाडौंः कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार उनले नौ हजार ४३ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेका केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत ल्याए। 

उपप्रमुखमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भइन्। उनले आठ हजार ६६५ मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी विन्दु महर्जनले सात हजार २०६ मत ल्याइन्। 

०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार मेयर र उपमेयर सहित सात वटा वडाध्यक्षमा विजयी भएका थिए। सदस्य समेत गर्दा कुल ३४ जनप्रतिनिधि एमालेबाट चुनिएका थिए। अहिले एमालेको शक्ति दुई महिला सदस्यमा सीमित भएको छ।

पालिका प्रमुख र उपप्रमुख सहित कांग्रेसबाट ४६ जनप्रतिनिधि चुनिएका छन्। एमालेले खुला वडा सदस्य पनि जित्न सकेन। 

माओवादी र एकीकृत समाजवादीको गठबन्धन, एमाले र कांग्रेसका त्रिपक्षीय भिडन्तमा कांग्रेसले बाजी मारेको हो। कांग्रेसले मेयर, उपमेयर, १० मध्ये नौ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ। वडाध्यक्ष, वडा सदस्य र महिला सदस्यमा एक/एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। 

वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी निर्वाचित भए। दिनेशचन्द्र दाहाल खुला सदस्य, सुमित्रा थापा महिला सदस्य र सुलिना परियार स्यावा दलित महिला सदस्यमा निर्वाचित भए। 

वडा नम्बर ३ को दलित महिला सदस्यमा एमालेकी सुष्मा विश्वकर्मा ६९९ मतका ल्याएर निर्वाचित भइन्।  वडा नम्बर ८ को दलित महिला सदस्यमा पनि एमालेकै सरस्वती परियार निर्विरोध निर्वाचित भएकी थिइन्।

वडा नम्बर १० को दलित महिला सदस्यमा माओवादी केन्द्रकी मञ्जु परियार निर्वारोध निर्वाचित भइन्।

जेठ ३, २०७९ मंगलबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।