उता बालेनको भोट चुलिँदै छ यता सडकमा फोहोरको थुप्रो

उता बालेनको भोट चुलिँदै छ यता सडकमा फोहोरको थुप्रो
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ :  अबको पाँच वर्ष काठमाडौँ महानगरपालिकाको नेतृत्व कसले गर्ला ?  राष्ट्रिय सभा गृहमा मतगणना जारी छ। सात बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन्।

उनी दुवै प्रतिस्पर्धीभन्दा लगभग चार हजार मतले अगाडि छन्। अब आउने नेतृत्वले केही राम्रो काम गर्ला कि भन्ने आशमा वैशाख ३० मा मतदान गरेका महानगरवासी भने दुर्गन्धले हैरान छन्। उता बालेनको भोट जसरी चुलिँदै छ यता सडकमा उसरी नै दैनिक फोहोरको थुप्रो चुलिँदै छ।

महानगरपालिकाले वैशाख ११ देखि नै फोहोर उठाउन सकेको छैन। उपत्यकामा फोहोर नउठेको २४ दिन भइसक्यो। यो बिचमा २८ हजार ८ सय टन फोहोर सडकमा थुप्रियो। महानगरकै आँकडा पत्याउने हो भने अहिले १३ हजार टन फोहोर उठाउन सकिएको छैन।

घाम चर्कने अनि पानी पर्ने भइरहेको छ काठमाडौँमा। यसले फोहोर कुहिएर बाटोमा हिँड्नै नसक्ने अवस्था बनिसक्यो। महानगरले ठेक्का दिएको निजी कम्पनीहरूले समेत घरबाट फोहोर सङ्कलन गर्न सकेका छैनन्।

महानगर वातावरण विभाग प्रमुख सरिता राई काठमाडौँमा दैनिक १२ सय टन फोहोर निस्कने गरेको बताउँछिन्। । त्यसमा ५ सय ४५ टन त महानगरबाट मात्रै निस्कन्छ सडकमा।

जनप्रतिनिधि निवर्तमान भइसके। अहिले महानगर कर्मचारीको नेतृत्वमा छ। कर्मचारीको ध्यान सडकमा थुप्रिएको फोहोरमा हैन मत गनिरहेको सभा गृहमा छ। अहिलेकै गणनाको रफ्तार कायम रह्यो भने छिटोमा एक महिनामा महानगरको नेतृत्व पक्का हुन्छ। त्यो बेलासम्म सडकमा कुहिने फोहोर धान्न सक्लान् त महानगरवासीले?

अवरोध नभए पनि एक हप्ता लाग्छ उठाउन

वातावरण विभाग प्रमुख राईकै अनुसार कुनै अवरोध नभएमा अबको एक हप्ताभित्र मात्रै सडकमा थुप्रिएको फोहोर उठ्न सक्छ। अवरोध भए अझैँ समय लम्बिने उनी हाकाहाकी भन्छिन्।

'अहिले पनि फोहोर उठ्दै नउठेको त होइन। तर सबै क्षेत्रको उठाउन नसकेकै हो। फोहोर लैजाने सिसडोलमा भएको अवरोधका कारण १५ दिन त उठ्नै सकेन,' उनले भनिन्' अब अवरोध हट्यो, बाटो राम्रो भयो र मौसमले साथ दियो भने एक हप्ता पछि उठिहाल्छ।'

फोहोर उठ्न उनले तीन सर्त राखिन्। पहिलो अवरोध नभएमा। सिसडोलबासी कुन बहानामा कतिखेर सडक रोक्न आउँछन् ठेगान हुन्न। दोस्रो सर्त बाटो राम्रो भएमा भन्ने देखियो। दैनिक पानी परिरहेको छ। कच्ची बाटो भएकाले बाटो बिग्रने पक्का छ। अनि मौसमले साथ दिए भन्ने पनि उनको सर्त देखियो। उनका अनुसार पानी परेमा फोहोर उठाउन पनि अनि लैजान पनि सकिन्न।

यी तीन सर्तले उनले भनेझैँ एक सातामा काठमाडौँको सडकमा थुप्रिएको फोहोर उठ्ने सम्भावना देखिए।

लागु भएन वर्गीकरण

महानगरपालिकाले सडकमा कम फोहोर निस्कियोस् भनेर घरमै कुहिने र नकुहिले फोहोर छुट्टाछुट्टै जम्मा गरेर नकुहिने फोहोर मात्रै सडकमा ल्याउनुपर्ने नत्र कारबाही गर्ने भन्दै सूचना निकालेको थियो। तर सूचना कार्यान्वयन हुन सकेको छैन।

'विभिन्न अवरोधले गर्दा हामीले त्यो पुरै कार्यान्वयनमा ल्याउन सकिरहेका छैनौ। कुनै एउटा वडाबाट सुरु गर्ने भनेर कार्यक्रम बनाइरहेका छौँ’ राईले भनिन्।

उनले फोहोर व्यवस्थापनमा एकल महानगर मात्रै नभई अन्य निकायहरू पनि संलग्न रहेकाले समेत यसमा समस्या देखिएको तर्क गरिन्। उनले सडक विभागले सडक बनाइदिए, सरकारले ल्यान्डफिल्ड साइड देखाइदिए महानगरले फोहोर उठाएर लगेर फाल्ने मात्रै जिम्मेवारी भएको तर्क गरिन्।

'फोहोर व्यवस्थापनमा महानगर मात्र हैन सडक व्यवस्थापन, पूर्वाधार मन्त्रालय, सहरी विकास मन्त्रालय र वातावरणको कुरा पनि आउँछ। महानगरले त सरकारले बनाइदिएको ल्याण्डफिल्ड साइडमा लगेर फोहोर व्यवस्थापन गर्ने मात्र त हो,' बढो सहज ढङ्गले उनले भनिन्' अब त्यहाँको त्यस्तो खराब बाटो छ। स्थानीयहरू रुष्ट छन्. त्यस्तो अवस्थामा महानगरले मात्र आफ्नो काम गरेर पनि हुँदैन। अरू निकायले पनि गर्नु पर्यो नि। हाम्रो तर्फबाट त हामीले गर्नु पर्ने सबै काम भइरहेकै छ।’

तीन वर्ष भनेको सिसडोल १७ वर्षसम्मै प्रयोगमा

सन् २००५ मा ३ वर्षका लागि भनेर सिसडोल ल्याण्डफिल्ड साइट प्रयोग गरिएको थियो। त्यहाँको भरिएपछि आलेटारमा ४ वर्ष फोहोरको व्यवस्थापन भयो। त्यहाँको पनि भरिएपछि सिसडोलकै क्षमता विस्तार गरेर प्रयोगमा ल्याइयो।

अहिलेसम्म त्यसैको प्रयोग भइरहेको छ। फोहोर उठाएर त्यहाँ लग्दा व्यवस्थापनै गाह्रो भइसकेको महानगरकै जिम्मेवार अधिकारी बताउँछन्।

'त्यहाँको स्थानीयले काठमाडौँको फोहोर काठमाडौँमै लग भन्ने गर्छन्। बर्खाको बेलामा त सडक हिलो भएर गाडी नै गुड्न सक्दैन,' उनले भनिन्।

सिसडोलले थेग्न नसकेपछि निर्माणाधीन बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न गएको वर्ष भदौमा सहरी विकास तथा भवन निर्माण विभागले कार्यको प्रस्ताव राखेको थियो।

फागुनमा सहरी विकास मन्त्री रामकुमारी झाँक्री निर्माणाधीन बन्चरे डाँडाको स्थलगत भ्रमण गर्दै अब त्यहाँ फोहोर व्यवस्थापन गर्न तयार भएको र महानगरले प्रयोग गर्न सक्ने दाबी गरिन्। तर स्थानीय रिसाए।

स्थानीयले त्यो बेला १० दिन बाटो नै प्रयोग गर्न दिएनन्। ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दालाई महानगरपालिकाले सहयोग पनि गर्ने गर्छ।  अघिल्लो आर्थिक वर्ष मात्रै महानगरले ११ करोड ७९ लाख ३३ हजार खर्च गरेको उसको दाबी छ।

तै पनि हरेक वर्ष स्थानीयको माग बढ्दै जान्छ। अवरोध भइरहन्छ। काठमाडौँका सडकमा फोहोरको चुचुरी डढिँदै जान्छ। फोहोर नउठे यताको बासिन्दा रुष्ट हुन्छन्, फोहोर उठे उताको।

तर जिम्मेवार निकायमा रहेकाहरूले न यता महानगरवासीलाई फोहोर मुक्त सडक दिन सकेका छन् न उता ल्यान्डफिल्ड साइट प्रभावितवासीलाई नै चित्त बुझाउन सकेका छन्।

महानगरका मेयरमध्येका बालेनले आधुनिक मेसिन ल्याएर फोहोर व्यवस्थापन गर्ने दाबी गरेका थिए। केशव स्थापितले आफूसँग मास्टर प्लान भएको भन्दै यसलाई कुनै समस्यै नभएको दाबी गरेका थिए। सिर्जना सिंहले घरभित्रै फोहोर व्यवस्थापन गराएर कम फोहोर मात्र सडकमा आउने वातावरण बनाउने र सडकमा आएका फोहरको पनि सदुपयोग गर्ने तर्क गरेकी थिइन्।

अहिलेसम्मको मतको अवस्थाले यी तीनमध्ये एक जना महानगरको नेतृत्वमा आउने पक्कापक्की गरेको छ। तर जो आउँछ उसको पहिलो परीक्षा यही फोहर व्यवस्थापनबाटै हुने पक्का छ।

जेठ २, २०७९ सोमबार २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।