काठमाडौँका ११ स्थानीय तहमा ६ मा कांग्रेसका उम्मेदवार अगाडि, एमाले २, बाँकीमा राप्रपा र स्वतन्त्र

काठमाडौँ : काठमाडौँ जिल्लाको एक महानगरपालिका र १० नगरपालिकामध्ये एक नगरपालिका नेपाली कांग्रेसले जितेको छ। बाँकी १० मध्ये काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन्। बाँकी नगरपालिकामा २ वटामा एमाले र एकमा राप्रपाले अग्रता लिएको छ। बाँकीमा कांग्रेस अगाडि छ। वडाका नतिजा भने मिश्रीत छ।
गोकर्णेश्वर नगरपालिकामा एमालेका मेयर उम्मेदवार उद्धव विष्ट ३६४१ मतका साथ अगाडि छन्। उनलाई नेपाली कांग्रेसका दीपक कुमार रिसाल २९३८ मतले पच्छ्याइरहेका छन्। उपप्रमुखमा एमालेकी सान्नानी लामाको ३४८३ मत र कांग्रेसकी शान्ति नेपाली २७९९ मत आएको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
सार्वजनिक भएको वडाहरूमा १ मा एमालेका द्वारिका श्रेष्ठ, २ मा एमालेका मधु तामाङ, ३ मा मुरारीप्रसाद कुइँकेल, ४ मा एमालेको जयराम महत निर्वाचित भइसकेका छन्। बाँकीको गणना जारी छ।
कागेश्वरी मनहराको मेयरमा कांग्रेसका उपेन्द्र कार्की २९१० मतका साथ अगाडि छन्। दोस्रोमा एमालेका राम शरण ढुङ्गाना २६८६ मतका साथ उनलाई पच्छ्याइरहेका छन्।
एक वडामा एमालेका मुकुन्द प्रसाद गजुरेल अनि वडा नम्बर ९ मा अनिल थापा निर्वाचित भइसकेका छन्।
काठमाडौँको शंखरापुर नगरपालिकामा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मेयरका उम्मेदवारले अग्रता लिएका छन्।
सार्वजनिक भएको ११ हजार ५८ मतमा राप्रपाका मेयर उम्मेदवार रमेश नापितले २ हजार ४ सय २४ मत पाएका छन्।
एमालेका उम्मेदवार कृष्णलाल बजगाईँले २ हजार ४ सय ८ मत पाएका छन्। माओवादी केन्द्रका मेयर उम्मेदवार मधु केसीले १ हजार ८ सय ६३ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठले ३ हजार २ सय ८८ मत पाएकी छिन्। माओवादी केन्द्रकी चण्डिका चौलागाई १ हजार ८ सय १ मत सहित दोस्रो स्थानमा छिन्। एमालेकी उम्मेदवार लक्ष्मी केसीले १ हजार ७ सय ५० मत पाएकी छन्।
वडा नम्बर १ मा एमालेका वेद नारायण दंगाल, २ मा कांग्रेसका रनबहादुर थिङ, ३ मा राप्रपाका सूर्यबहादुर तामाङ, ८ मा कांग्रेसका पोते थिङ र ९ मा कांग्रेसका सहदेव श्रेष्ठले जितिसकेका छन्।
बुढानीलकण्ठमा नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी ६०९१ मतका साथ अगाडि छन्। उनलाई कांग्रेसको विनोद चालिसे ५६१९ मतका साथ पच्छ्याइरहेका छन्।
उपमेयरमा एमालेकी अनिता लामाको ६५८७ मत र कांग्रेसकी रमिला वाग्ले ६०८३ मत पाएकी छिन्। वडा १ मा एमालेका सुरेन्द्र लामा, २ मा एमालेका राजेन्द्र श्रेष्ठ, ३ मा स्वतन्त्र आकाश धिताल, ४ मा कांग्रेसका श्रीराम केसी, ५ मा कांग्रेसका कृष्ण शाह, ६ मा एमालेका रवि खड्का, ७ मा एमालेका बस नारायण महर्जन र ८ मा एमालेका सुमन तामाङले जितेका छन्।
पाँच वडाको नतिजा आउन बाँकी छ।
यसै गरी टोखा नगरपालिकाको मेयरमा कांग्रेसकी रजनी थापा ४३२२ मतका साथ अगाडि छिन्। एमालेका प्रकाश अधिकारीले ४२६८ मतका साथ पच्छ्याइरहेका छन्।
उपमेयरमा कांग्रेसका मुरारी तामाङ ४२९८ मत र एमालेकी ज्ञान माया डङ्गोल ३९५४ मत पाएकी छिन्। वडामध्ये १ मा कांग्रेसका रमेशकुमार लामिछाने, २ मा एमालेका धर्मेन्द्र श्रेष्ठ, ३ मा एमालेका रमेश डङ्गोल, ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ, पाँचमा एमालेका मदन गुरुङ विजयी भएका छन्।
वडा ६ देखि ११ सम्म नतिजा आउन बाँकी छ।
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बहादुर बस्नेत २७१८ मतका साथ अगाडि छन्। एमालेका नन्दन हरि गौतमले १९४७ मत पाएका छन्। उपमेयरमा एमालेकी सुशील अधिकारी १८५४ मतका साथ अगाडि छिन् भने एकीकृत समाजवादीका कृष्णहरी अधिकारी ९९३ मतका साथ पच्छ्याइरहेका छन्।
वडा १ मा कांग्रेसका रामेश्वर लामाले जितेका छन्। २ देखि १० सम्म परिणाम आउन बाँकी छ।
चन्द्रागिरि नगरपालिकामा मेयरमा कांग्रेस घनश्याम गिरी २९२२ र एमालेका उत्तम बहादुर राउतले २२२३ मत पाएका छन्। उपमेयरमा एमालेकी बसन्ती श्रेष्ठ २३३६ र दोस्रोमा जनमोर्चाकी रोशन दानी ९५० मत आएको छ।
वडा १ र ३ मा कांग्रेस अगाडि देखिएको छ। २ मा माओवादीले जितेको छ। १५ वडा रहेकोमा १२ वडाको नतिजा आएको छैन।
कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी ८३९५ र एमालेका केशरत्न बज्राचार्य ४६४१ मत पाएका छन्। उपमेयरमा कांग्रेसकी शुभलक्ष्मी शाक्य ७९०२ र एमालेकी विन्दु महर्जन ६२६४ मत पाएका छन्।
१० वटा वडामध्ये १ मा कांग्रेसको हिरालाल महर्जन, २ मा कांग्रेसका रुपेश महर्जन, ३ मा कांग्रेसका सुविन्द्र महर्जन, ४ मा स्वतन्त्र श्यामकुमार अधिकारी, ५ मा कांग्रेसका राजेन्द्रकुमार महर्जन, ६ मा कांग्रेसका खीरमान सिंह बस्नेत, ७ मा कांग्रेसका दिवाकार शर्मा अधिकारी, ८ मा कांग्रेसका सानु मैया महर्जन, ९ मा कांग्रेसका दिनेश श्रेष्ठले जितेका छन्। १० वडाको नतिजा आउन बाँकी छ।
दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्। उपमेयरमा बसन्ती तामाङ विजयी भइन्। ९ वडामध्ये १ मा एमालेका जय थापामगर, २ मा कांग्रेसको रामचन्द्र क्षेत्री, ३ मा एमालेका प्रचण्डमानसिंह बस्नेत, ४ मा कांग्रेसका पुष्कर खड्का, ५ मा कांग्रेसको श्यामबहादुर खत्री, ६ कांग्रेसका शैलेशमान मानन्धर, ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, ८ मा कांग्रेसका योसकुमार वाइबा, ९ मा कांग्रेसका अमृता बलामीले जितेका छन्।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि छन्। उनलाई एमालेका केशव स्थापितले पच्छ्याइरहेका छन्। उपमेयरमा एमालेकी सुनिता डङ्गोल निकै अगाडि छिन्
३२ वडामध्ये १ एमालेका भरतलाल श्रेष्ठ र २ राजेन्द्रकुमार श्रेष्ठले जितेका छन्। ३ र ४ मा एमालेका उम्मेदवार अगाडि छन्।
जेठ २, २०७९ सोमबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।