११८ स्थानीय तहको मत परिणाम सार्वजनिक: कांग्रेसले ४९ जित्दा एमाले र माओवादी कति? 

११८ स्थानीय तहको मत परिणाम सार्वजनिक: कांग्रेसले ४९ जित्दा एमाले र माओवादी कति? 

काठमाडौँ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। आज अपराह्न २ बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। 

एमाले दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन्। कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ। कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ। 

यस्तै तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा एमाले र एक प्रमुख र २२ अध्यक्षसहित २३ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ। एमाले पाँच उपप्रमुख र ३१ उपाध्यक्ष तथा माओवादी दुई उपप्रमुख र १५ उपाध्यक्षमा विजयी भएको छ। एकीकृत समाजवादीले दुई अध्यक्ष र छ उपाध्यक्ष तथा अन्य दलले पनि दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष जितेका छन्। यस्तै नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ। 

यो समाचार तयार पार्दासम्म कांग्रेस एक हजार ७१ वडामा विजयी भएको छ। कांग्रेसका तर्फबाट एक हजार ६६ महिला सदस्य, एक हजार ३२ दलित महिला सदस्य र दुई हजार १२० वडा सदस्य विजयी भएका छन्। यस्तै एमाले ८२१ वडामा विजयी भएको छ। एमालेले ८८३ महिला सदस्य, ८६४ दलित महिला सदस्य र एक हजार ७७९ वडा सदस्य जितेको छ। 

यसैगरी माओवादी केन्द्रले ४५८ वडामा जित हासिल गरेको छ। माओवादीका तर्फबाट ४३० महिला सदस्य, ४५८ दलित महिला सदस्य र ८०४ वडा सदस्य निर्वाचित भएका छन्। एकीकृत समाजवादीले ६७ वडामा जित हासिल गरेको छ। अन्य दल र स्वतन्त्रका तर्फबाट १७८ जना वडाध्यक्षमा निर्वाचित भएका छन्।  

जेठ २, २०७९ सोमबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।