वैशाख ३० मा स्थगन भएका १३ मतदान केन्द्रमा आज मतदान हुँदै

वैशाख ३० मा स्थगन भएका १३ मतदान केन्द्रमा आज मतदान हुँदै

काठमाडौंः वैशाख ३० गते स्थगन भएको मध्ये १३ मतदान केन्द्रमा आज निर्वाचन हुँदैछ। राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ।

निर्वाचन आयोगका अनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्र, बझाङको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र सोही पालिकाको आधाबगर माविको दुई केन्द्रमा मतदान भइरहेको हो। 

हिजो पनि स्थगन भएका मध्ये सात मतदान केन्द्रमा निर्वाचन भएको थियो।

आयोगका अनुसार जेठ ३ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरको श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरको नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविस्थित तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरस्थित विजय माविको एक मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्रमा निर्वाचन हुँदैछ। 

जेठ ४ गते तनहुँको व्यास नगरको गाविस भवन मतदानस्थलका दुई केन्द्रमा निर्वाचन हुने भएको छ।

जेठ २, २०७९ सोमबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।