कछुवा भन्दा नि सुस्त मतगणना : २६ घण्टामा ३ हजार मत पनि गन्न सकेनन्

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मतगणना बिहान साढे ९ बजेबाट सुरु भएको थियो। बेलुका ११ बज्दासम्म ३ हजार सय मत समेत गनिएको छैन।
प्रारम्भमा ३२ र १ वडाबाट गणना सुरु गरिएको थियो। गणना ढिलो भएको भनेर पछि वडा २, ३ र ४ को समेत गणना सुरु गरियो। तर मत परिणामको गति भने सो अनुसार सार्वजनिक हुन सकेको छैन।
बेलुका १० : ४५ सम्ममा जम्मा २६८२ मत गन्न सकिएको छ। त्यसमा स्वतन्त्र उम्मेदवार बालेन साहको ८४२, एमाले उम्मेदवार केशव स्थापितको ७२३ र कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहको ५०९ मत आएको छ।
महानगरको ३२ वडामा एक लाख ९० हजार मतदाताले मतदान गरेका छन्। निर्वाचन आयोगले ६ दिनभित्र मत परिणाम सार्वजनिक गर्ने दाबी गरेको थियो। तर मत परिणाम हेर्दा यही गतिमा काठमाडौँ महानगरपालिकाको परिणाम आउन महिना भन्दा बढी लाग्ने देखिन्छ।
काठमाडौँको मात्रै हैन अन्य क्षेत्रको मत गन्ने क्रम पनि उस्तै छ। भरतपुर महानगरपालिकामा बल्ल १२५० मत गनिएको छ। ललितपुर महानगरपालिकाको पाँच सय मत गनियो। उता पोखरा महानगरपालिकाको अवस्था पनि उस्तै सुस्त छ।
वैशाख ३१, २०७९ शनिबार २३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।