छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन उड्यो सेनाको हेलिकप्टर

छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन उड्यो सेनाको हेलिकप्टर
फाइल तस्बिर

दार्चुलाः व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर उडेको छ। जिल्लाको सबैभन्दा विकट छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन सेनाको हेलिकप्टर गएको हो।

दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ। मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो। गत शनिबार छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो।

व्यास–१ का दुई मतदान केन्द्रमा ३५० बढी मत खसेको छ। व्यास गाउँपालिकाका ६ वटै वडामा पाँच हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ।

वैशाख ३१, २०७९ शनिबार ०९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।