माओवादी कार्यकर्ताले हातपात गर्दा वडा अध्यक्षका उम्मेदवार गम्भीर घाइते

बुटवलः माओवादी केन्द्रका कार्यकर्ताहरूले गुल्मीको धुर्कोट- ४ जैशिथोकका वडा अध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात गरेका छन्। गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा उनीहरूले थापामाथि हातपात गरेका हुन्।
रक्सीको बोटल, हेल्मेट, ढुंगा र फलामका रडले आक्रमण गर्दा थापालाई टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै घाइते हुनेमा निरञ्जन कुँवर, सञ्जय लगायतका युवा छन्। उनीहरू पनि गम्भीर घाइते भएका छन्।
माओवादीका नेता एवम् पालिका अध्यक्षका प्रत्यासी भुपाल पोखरेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासि आएर आक्रमण गरेको बताइएको छ। प्रत्यक्षदर्शी गणेश भण्डारीका अनुसार उनीहरूले मदिरा सेवन गरी आएर भुपाल पोखरेलको आडमा मार्नेसम्मको धम्की दिएका थिए।
हिजो दिउँसो मात्र गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्रप्रसाद भण्डारीमाथि नयाँगाउँमा माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए।
घाइतेहरूलाई जिल्ला अस्पतालबाट काठमाडौं रिफर गरिएको छ। त्यहाँ अझै मतगणना हुन सकेको छैन्।
वैशाख ३१, २०७९ शनिबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।