गणनामा प्रतिनिधि राख्न नदिएको भन्दै बालेनले भने' गणना नै शान्तिपूर्ण हुँदैन कि'

काठमाडौँ : मतगणनाको क्रममा हरेक स्वतन्त्र उम्मेदवारको प्रतिनिधि राख्न नदिने गरी निर्वाचन कार्यालयले निर्णय गरेको भन्दै बालेन साहले विरोध गरेका छन्। काठमाडौँ महानगरपालिकाको मतगणनाको समयमा राखिने प्रतिनिधिमा पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने आयोगको कार्यालयले जानकारी गराएको भन्दै उनले विरोध जनाएका हुन्।
उनले फेसबुकमा लेख्दै सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको र उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता नसोचिएको भन्दै उनले सबैलाई बराबर व्यवहार गर्न माग गरेका छन्।
'हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ। हरेकले पाउने प्रत्येक मतको 'मत भार' बराबर छ। यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिँदै छ? उनले लेखेका छन्।
उनले स्वतन्त्रहरू आफैमा फरक-फरक विचार, समूह र उम्मेदवार रहेको भन्दै उनीहरू आफै बिचमा प्रतिस्पर्धा हुने भएकाले पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको भन्दै प्रश्न गरेका छन्।
'कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एक जना मात्रै प्रतिनिधि छान्ने हो ? पाँच जनाले एक जना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रक्रिया र विधी के हो? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यविधि कहाँ छ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन' उनले लेखेका छन्।
सामान्य प्राविधिक कुराहरूमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलबाड नगरियोस् भन्दै उनले ५ जना स्वतन्त्रको एक जना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण रहेको र यो लोकतन्त्रको विरुद्धमा रहेको बताएका छन्।
'यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शङ्का उत्पन्न गराउँछ। यसप्रति निर्वाचन आयोग सजग बनोस्। र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न देओस्' उनले लेखेका छन्।
वैशाख ३१, २०७९ शनिबार ०१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।