काभ्रेका चार मतदान केन्द्रमा तोडफोड र विवाद

काभ्रे : दलका प्रतिनिधीहरुविच भएको विवादले काभ्रेका चार मतदान केन्द्रको मतदान रोकिएको छ।
काभ्रेको चौरीदेउराली, पाँचखाल नगरपालिका–१३ कोशिदेखास्थित श्रीराम मावि, तेमाल गाउँपालिका–७ स्थित भुमेश्वर आधारभूत विद्यालय र तेमालकै वडा नम्बर-९ स्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको हो।
चौरीदेउराली गाउँपालिका–६ मा रहेको प्रभा उच्च मावि मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले एमालेले बुथ नियन्त्रणमा लिएर एकलौटी गरेको भन्दै एमालेका बुथ प्रतिनिधिलाई कुटेपछि मतदान रोकियो।
उनीहरूले मतपेटिका तोडफोड समेत गरेका थिए। तर सो मतपेटिका नमुनाका लागि राखेको प्रहरीले दाबी गरेको छ।
पाँचखाल नगरपालिका–१३ कोशिदेखाको श्रीराम मावि मतदान केन्द्रमा एउटै व्यक्तिलाई दुई वटा मतपत्र दिएको भन्दै कांग्रेस निकटले मतदान केन्द्रमा तोडफोड गरेका थिए। अर्को पक्षले उनीहरूलाई मतदान केन्द्रबाट लखेटेका थिए।
तेमाल गाउँपालिका–७ को भुमेश्वर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा कांग्रेस र माओवादीका कार्यकर्ताबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको थियो।
तेमालकै वडा नम्बर-९ मा रहेको कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा पनि कांग्रेस र माओवादीका कार्यकर्ताबिच विवाद भएपछि मतदान रोकियो।
वैशाख ३०, २०७९ शुक्रबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।