झडप र लफडामय भयो निर्वाचन

झडप र लफडामय भयो निर्वाचन

काठमाडौंः स्थानीय तहको निर्वाचनमा कतै झगडा कतै लफडा भएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेको असने मतदान केन्द्रमा झडप हुँदा दुई जना घाइते भएका छन्।

उनीहरूलाई उपचारको लागि नजिकैको स्वास्थ्य चौकी लगिएको छ। सो मतदान केन्द्र निकै अव्यवस्थित रहेको समेत मतदाताले गुनासो गरेका छन्।

यस्तै काभ्रेको कात्तिके देउराली- ६ मा गठबन्धनका कार्यकर्ताहरूले मतपेटिका फ़ुटाएको एमाले नेतृ नविना लामाले बताएकी छिन्। उनले मतदान अधिकृत, ग्रह प्रशासन पनि निष्पक्ष नदेखिएको आरोप लगाएकी छिन्।

उनका अनुसार झडपका कारण घाइते भएकाले एक एमालेका कार्यकर्ताको अवस्था गम्भीर छ। यद्यपि, लामाले लगाएको आरोप औपचारिक पुष्टि भने भएको छैन।

यस्तै लमजुङको बेंसीशहर-११ मा रहेको बुथमा  एमालेका २०७४ मा निर्वाचित वडा अध्यक्ष अच्युत बगाले थापाको नेतृत्त्वमा मतदाता कुटिएका छन्। मत हाल्न आएकालाई कांग्रेस कार्यकर्ता भन्दै उनको समूहकाले कुटेका हुन्।

यता सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ हरिरबा जनता मावि मतदानस्थलमा तोडफोड भएको छ। साथै मतदान अधिकृतमाथि पनि कुटपिट भएको छ। हाल त्यहाँ मतदान स्थगित भएको छ। यस्तै महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक लगायतका स्थानमा पनि झडप र विवाद हुँदा मतदान केहीबेर स्थगित भएको थियो।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन्। खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन्। 

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो। खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ भने माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन गरेका छन्।

दलका प्रतिनिधीहरुविच भएको विवादले काभ्रेका चार मतदान केन्द्रको मतदान रोकिएको छ।

काभ्रेको चौरीदेउराली, पाँचखाल नगरपालिका–१३ कोशिदेखास्थित श्रीराम मावि, तेमाल गाउँपालिका–७ स्थित भुमेश्वर आधारभूत विद्यालय र तेमालकै वडा नम्बर-९ स्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको हो।

चौरीदेउराली गाउँपालिका–६ मा रहेको प्रभा उच्च मावि मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले एमालेले बुथ नियन्त्रणमा लिएर एकलौटी गरेको भन्दै एमालेका बुथ प्रतिनिधिलाई कुटेपछि मतदान रोकियो।

उनीहरूले मतपेटिका तोडफोड समेत गरेका थिए। तर सो मतपेटिका नमुनाका लागि राखेको प्रहरीले दाबी गरेको छ।

पाँचखाल नगरपालिका–१३ कोशिदेखाको श्रीराम मावि मतदान केन्द्रमा एउटै व्यक्तिलाई दुई वटा मतपत्र दिएको भन्दै कांग्रेस निकटले मतदान केन्द्रमा तोडफोड गरेका थिए। अर्को पक्षले उनीहरूलाई मतदान केन्द्रबाट लखेटेका थिए।

तेमाल गाउँपालिका–७ को भुमेश्वर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा कांग्रेस र माओवादीका कार्यकर्ताबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको थियो।

तेमालकै वडा नम्बर-९ मा रहेको कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा पनि कांग्रेस र माओवादीका कार्यकर्ताबिच विवाद भएपछि मतदान रोकियो।

वैशाख ३०, २०७९ शुक्रबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।