उत्तर कोरियाको पहिलो कोभिड–१९ सङ्क्रमितको मृत्यु, किमले पहिलो पटक लगाए मास्क

एजेन्सीः उत्तर कोरियामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका पहिलो सङ्क्रमितको मृत्यु भएको छ। उत्तर कोरियाले आफ्नो पहिलो सङ्क्रमितको शुक्रबार मृत्युको पुष्टि गरेको हो।
यस्तै “विस्फोटक रूपमा“ राष्ट्रव्यापी कोभिड फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएको पनि जनाएको छ। हाल सङ्क्रमितलाई अलग्गै राखेर उपचार भइरहेको पनि बताएको छ।
यस्तै करिब तीन लाख ५० हजार जनाले ज्वरोका लक्षण देखाएका पनि उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। साथै शुक्रबार मात्रै त्यहाँ ५ जनाको मृत्यु ज्वरोका कारण र एक जनाको मृत्यु ओमिक्रोनका कारण भएको बताइएको छ।
हाल एक लाख ८७ हजार मानिसलाई आईसोलेसनमा राखेर उपचार गरिँदै गरेको बताइएको छ। हाल राजधानी प्योङयाङमा सङ्क्रमण फैलिएकाले लकडाउन लगाइएको छ।
त्यहाँका शासक किम जोङ उनले पनि यसपटक सार्वजनिकरूपमा पहिलो पटक मास्क लगाएका छन्।
यता, उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदाय र चीनले दिएको खोप पनि अस्वीकार गरेको थियो। सन् २०२० को जनवरीमै सीमा सिल गरेकाले आफूहरूले कोरोना भाइरस नियन्त्रण गरेको उत्तर कोरियाको दावी थियो।
हाल उत्तर कोरियालाई खोप प्रदान गर्ने कुनै कार्यक्रम नरहेको अमेरिकाले जनाएको छ।
वैशाख ३०, २०७९ शुक्रबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।