गोप्य मतदानको खिल्ली उडाउने डा बाबुरामलाई होला १५ हजार जरिवाना ?

गोप्य मतदानको खिल्ली उडाउने डा बाबुरामलाई होला १५ हजार जरिवाना ?

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइले आफूले मत हालेको मतपत्र सार्वजनिक हुने गरी तस्बिर खिचेर सार्वजनिक गरेका छन्।

उनले गोरखामा मतदान गर्दै आफूले मत हालेको चुनाव चिन्ह देखिने गरी तस्बिर खिच्न लगाएर आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका हुन्। उनको सो काम निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ विपरीत हो।

सो ऐनको दफा ९ मा मत सङ्केत सार्वजनिक गर्न नहुने उल्लेख छ। सो दफामा उल्लेख भए अनुसार 'कसैले मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको ब्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने उल्लेख छ।

यसो गरेमा सो व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

योसँगै त्यस्तो मतपत्र मत पेटिकामा हाल्न नदिई छुट्टै खाममा राखेर ब्यहोरा उल्लेख गर्नुपर्ने र सो मतपत्र गणना नहुने समेत कानुनी व्यवस्था छ।

बाबुरामले सार्वजनिक गरेको फोटोमा उनले मत पत्रमा दिएको भोटसहित सार्वजनिक गरेका त छन् नै सँगै मतपेटिकामा राखेको तस्बिर समेत राखिएकाले मतपत्र बदर हुने सम्भावना नदेखिए पनि १५ हजारसम्म जरिवाना भने हुनसक्छ।

वैशाख ३०, २०७९ शुक्रबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।