खुल्ला मतदानमार्फत बाबुरामको सन्देश : स्वार्थका लागि जे गर्न पनि तयार हुनुपर्छ

खुल्ला मतदानमार्फत बाबुरामको सन्देश : स्वार्थका लागि जे  गर्न पनि तयार हुनुपर्छ
तस्बिर स्रोत : बाबुराम भट्टराइको फेसबुक पेज

काठमाडौँ : पालुङटार नगरपालिकामा एमालेसँग भएको गठबन्धनलाई विश्वास दिलाउन जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले निर्वाचन संहिता उलङ्घन गर्दै आफूले हालेको मतपत्र सार्वजनिक गरेका छन्।

काङ्ग्रेससँग गठबन्धन नभएपछि अन्तिम समयमा जसपा र एमालेबिच नगरपालिकाको नेतृत्वका लागि गठबन्धन भएको थियो। जस अनुसार मेयर जसपा र उपमेयर एमालेले पाउने गरी सहमति भएको थियो।

बाबुरामले फेसबुकको आफ्नै अकाउन्टबाट गोरखाको अन्नपूर्ण मावि बुथमा बिहान ८.२५ बजे मतदान गरेका थिए। मतदान केन्द्रमा सञ्चारकर्मीलाई समेत तस्बिर लिन कडाइ गरिएको थियो। तर बाबुरामले मत पत्रमा दिएको मत समेत देखिने गरी तस्बिर खिच्ने छुट पाए।

मतदान गोप्य हुने र कसलाई मत दिएको हो सो सार्वजनिक गर्न नहुने संहिताबारे पूर्व प्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराई जानकार नहुने प्रश्नै रहेन।

उनले फेसबुकबाट मेयरमा लगायतको उम्मेदवार छाता अनि उपमेयरमा रुख या छाता कसैमा मत नहालेको मतपत्र देखाएर एमालेका मतदातालाई आफूले उपमेयरमा सूर्यमा मतदान गरेको सन्देश दिन संहिताको वास्ता नगरी आफ्नो मतदान सार्वजनिक गरेका हुन्।

प्रारम्भमा पालुङटार नगरपालिकाको नेतृत्व जसपालाई दिने पाँच दलमा सहमती भएको थियो। जसपालाई मेयर र कांग्रेसको उपमेयर हुनेगरी केन्द्रमा भएको सहमती जिल्लाले स्विकार गरेन। जिल्लाले एक्लाएक्लै मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णय गरेपछि एकाएक जसपा र एमालेविच चुनावी तालमेल भएको थियो।

पाँच दलिय गठबन्धनमा पाँच दलभन्दा बाहिर गएर तालमेल नगर्ने बरु सहमती नभए मित्रवत् प्रतिष्पर्धा गर्ने सहमती भएको थियो। तर सहमती विपरित बाबुरामले एमालेसँग गठबन्धनको सहमती गराउँदै मेयर जसपालाई र उपमेयर एमालेलाई दिने सहमती गरे। सँगै वडा नम्बर ६, ७ र १० मा  एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जसपालाई सघाउने र  जिल्लाको अन्य पालिका र वडामा समेत एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय गरिएको भन्दै विज्ञप्ती जारी गरियो।

पाँच दलभन्दा बाहिर गएर तालमेल नगर्ने निर्णय उलंघन गर्ने जसपा एक्लो हैन। कांग्रेस, माओवादी अनी एकिकृत समाजवादीका स्थानीय नेताहरुले केन्द्रको निर्देशक अवज्ञा गर्दै एमाले, राप्रपा लगायतका दलहरुसँग तालमेल गरेका छन्। तर ती दलका नेताहरुले लोकतन्त्रको सबैभन्दा बलियो अधिकार गोप्य मतदानलाई बाबुराम भट्टराइले जस्तो मजाक भने बनाएका छैनन्।

वैशाख ३०, २०७९ शुक्रबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।