नुवाकोटमा सञ्चारमाध्यम नै भोट माग्न व्यस्त

नुवाकोटमा सञ्चारमाध्यम नै भोट माग्न व्यस्त

नुवाकोटः स्थानीय तहको निर्वाचनअन्तर्गत यतिबेला देशभर मतदान चलिरहेको निर्वाचन आयोगले जनाएको छ। मतदान चलिरहँदा नुवाकोटमा उम्मेदवारहरू भने अझै प्रचारमै व्यस्त छन्।

सञ्चारमाध्यमले समेत निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएको छ। 

अनलाइन न्युज पोर्टल विदुर खबर डटकममा गठबन्धनका तर्फबाट विदुर नगरपालिका वडा नं ३ का वडध्यक्षका उम्मेदवार बद्रीप्रसाद रिमाललाई मतदान गर्न अपिल गरिएको सामग्री राखिएको छ। सोही साइटमा विदुर नगरपालिका वडा नं १ का एमालेका उम्मेदवारहरूलाई मत हाल्न अपिल गरिएको सामग्री पनि राखिएको छ। 

वैशाख २७ गते रातिबाटै मौन अवधि लागू गरिएको छ। यो समयमा निर्वाचन प्रचारको काम गर्न पाइँदैन। तर खुल्लमखुल्ला यसरी प्रचार भइरहेको छ। 

नुवाकोट जिल्लाका प्रमुख निर्वाचन अधिकृत उमेश लुइँटेलले आचारसंहिता विपरीतका कामको उजुरी परे नियमानुसार कारबाही हुने बताए। 'त्यस्ता घटना हुनु नपर्ने हो, निर्वाचन आयोगको टोलीले अनुगमन गर्दैछ। अहिलेसम्म जानकारी छैन। उजुरी परेको खण्डमा नियमानुसार कारबाही गर्छौं', लुइँटेलले भने। 

नुवाकोटमा कुल एक सय ३२ मतदानस्थल र दुई सय ८७ मतदान केन्द्र छन्। जिल्लाभर दुई लाख ३७ हजार ३४३ मतदाता छन्।

वैशाख ३०, २०७९ शुक्रबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।