रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील, चार हजार ६ सय सुरक्षाकर्मी परिचालन

बुटवलः स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन सुरक्षाका लागि मात्र जिल्लामा चार हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
सबै मतदानस्थल र केन्द्रको सुरक्षाका साथै नागरिकलाई भयरहित ढंगले मतदान गर्ने वातावरण सिर्जना सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।
नेपाल प्रहरीको एक हजार चार सय, सशस्त्र प्रहरीको ६ सय, नेपाली सेनाको ६ सय र म्यादी प्रहरी दुई हजार चार सय जना परिचालन गरिएको उनले बताए।
मतदानस्थल वरपर तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पहिलोमा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घरामा नेपाली सेना रहने छन्। यसका साथै जिल्लाभर प्रहरी, सशस्त्र, सेनाको मोबाइल टोली पनि खटाइने छ।
यस्तै जिल्लाका ६२ वटा मतदानस्थललाई सुरक्षा निकायले अतिसंवेदनशील सूचीमा राखेको छ। यस्तै, ६८ वटालाई संवेदनशील र ७८ वटालाई समान्य सूचीमा राखिएको छ।
रुपन्देहीमा सात सय मतदान केन्द्र र दुई सय आठ मतदानस्थल तोकिएका छन्। रुपन्देहीमा कुल ६ लाख ३२ हजार ३६० मतदाता रहेका छन्। तीमध्ये तीन लाख २३ हजार ७७८ पुरुष र तीन लाख आठ हजार ५७४ महिला छन्। अन्य मतदाताको सङ्ख्या आठ छ।
निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन्। अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता थिए।
नगरपालिकामध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबैभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता छन्।
वैशाख ३०, २०७९ शुक्रबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।