आज सबै प्रदेशमा वर्षाको सम्भावना, मतदान गर्न जाँदा छाता नछुटाऔं

आज सबै प्रदेशमा वर्षाको सम्भावना, मतदान गर्न जाँदा छाता नछुटाऔं

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी पनि जारी गरेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चटयाङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आज स्थानीय तहको निर्वाचन भएकाले निर्वाचन आयोगले यसअघि नै मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न भनेको थियो। यद्यपि, मतदाता उभिने लाइनमा यसको व्यवस्था नभएको हुँदा मतदान गर्न जाँदा छाता नछुटाऔं।

वैशाख ३०, २०७९ शुक्रबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।