काठमाडौं महानगर प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं महानगर प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्। 

सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएको छ। एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ।   

विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका वालेन्द्र साह (वालेन)ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ। शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ।   

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताइएको छ। 

वैशाख २९, २०७९ बिहीबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।