पैसा बाँडेको आरोपमा वीरगन्जका मेयर उम्मेदवार सरावगीलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौँ : वीरगन्ज महानगरपालिकाका एमालेबाट मेयरको उम्मेदवार बनेका विजय सरावगीमाथि मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। वैशाख २६ गते बेलुका साढे १२ बजे महानगरपालिकाको वडा नम्बर १६ को एक मतदाताको घरमा सरावगी गएका थिए।
उनले मत खरिद गर्न पैसा बाँडेको भन्दै जनता समाजवादीका समर्थकहरूले होहल्ला गरेपछि उनी घरबाट निस्किएर भागेका थिए। सशस्त्र प्रहरी समेत सो घरमा पुगेका थिए। उनी विरुद्ध जनता समाजवादी पार्टीका वीरगन्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवले उजुरी दिएपछि आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो।
उनलाई आयोगले मतदाता प्रभावित पार्ने गतिविधि गरेको हो हैन?, के कारणले सुरक्षाकर्मीले मतदाताको घरबाट निकाल्नु परेको हो? भनेर सोधेको छ। उनलाई प्रहरीले मतदाताको घरबाट निकालेपछि भाग्दै गरेको भिडियो टिकटकमा समेत भाइरल भएको छ।
जनता समाजवादी पार्टीबाट मेयरमा जितेका उनी निर्वाचन अगाडि एमालेमा प्रवेश गरेका थिए।
वैशाख २९, २०७९ बिहीबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।