एमालेका वडाध्यक्षविरुद्ध निर्वाचन कार्यालय लमजुङमा उजुरी, पैसा बाँडेको आरोप
लमजुङ : बेशिसहर नगरपालिका–११ चितिमा एमाले वडाध्यक्ष उम्मेदवार शिव जोशीले पैसा बाँडेको भन्दै जिल्ला निर्वाचन कार्यालय लमजुङमा उजुरी परेको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख शिव प्रसाद खनालले दिएको जानकारी अनुसार एमाले वडा अध्यक्षका उम्मेदवार शिव जोशीले रामचोक बेशीमा एक स्थानीयको घरमा बसेर रकम बाँड्दै गरेको भनी उजुरी परेको बताए।
बेशिसहर–११ चितीबाट उजुरी परेको छ। एमाले वडाध्यक्ष उम्मेदवार जोशीले १ लाख ३५ हजार पाँच सय साथमा बोकेको र केही रकम बाँडी सकेको अवस्थामा भेटिएको छ। उनले कुन टोलमा कति पैसा बाँडे लिस्ट समेत पेस भएको छ। उनले भने, के भएको हो आरोपितलाई स्पष्टीकरण लिने र नियम अनुसार कारबाही हुन्छ। भोलिको मतदान भने राेकिँदैन्।
एमाले वडाध्यक्षका उम्मेदवार शिव जोशीले भने मतदानको दिनको लागि खर्च बोकेको र बिरामी हुनुभएकी युवासंघ वडा सचिवको घरमा खाना खान बसेको बताए। हामीलाई पैसा बाँड्न लागेको आरोप लगाए। उनले भने, निर्वाचन भनेको स्वस्थ प्रतिस्पर्धा हुन्छ पार्टीको मान्छे बिरामी भएकाले भेट्न गएको हुँ। म माथि निराधार आरोप लगाइयो।
उता नेपाली कांग्रेसका उम्मेदवार सुरेश बाबू पाण्डेले मौन अवधिमा झोला भरी पैसा लिएर हिँड्ने र कस्लाई कति दिने भन्ने लिस्टसमेत फेला पारेपाछी निर्वाचन कार्यालयमा निवेदन दिएको बताए। वडा सभापति सुरेशबाबू पाण्डेले मौन समयको उलंघन गर्दै गैरकानुनी काम भएको बताए। उनले भने, हामीले कस्लाई कति दिएको लिस्टसहित निर्वाचन कार्यालयमा निवेदन दर्ता गरेका छौँ। छानबिन गरेर कडा भन्दा कडा कारबाहीको माग गर्दछौ।
लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्धले झडप हुने स्थिति आएपछि प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गरिएको बताए। हिजो चितिमा एमालेले पैसा बाँडेको भन्दै कांग्रेस कार्यकर्तासँग झडप भएछ। उनले भने, हामीले शान्ति सुरक्षा कायम गर्न प्रहरी पठायौँ। अब बाकी काम निर्वाचन कार्यालयले गर्छ।
वैशाख २९, २०७९ बिहीबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।