भरतपुर महानगरको मतगणना स्थलमा सीसी क्यामेरा जडान, तार जाली लगाउने काम जारी

चितवनः भोलि हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको छ।
हाल सो ब्लकमा सीसीटीभी जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भइरहेको जनाइएको छ। सात समूहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए।
“आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौ”, उनले भने। तर, आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ।
यसअघि २०७४ सालको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि यसपटक भरतपुरमा विशेष तयारी गरिएको छ। यस्तै विगतको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
भरतपुर महानगरमा २९ वडा छन्। यहाँ एक लाख ८५ हजार ७५२ मतदाता छन्। महानगरमा लागि ६५ मतदानस्थल र २०२ मतदान केन्द्र रहेको छ।
वैशाख २९, २०७९ बिहीबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।