लुम्बिनी प्रदेशमा निर्वाचनको तयारी अन्तिम चरणमा

बुटवल : लुम्बिनी प्रदेशमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। मतदान केन्द्रमा कर्मचारीहरु खटिएका छन्। प्रदेशमा कुल १ हजार ६२९ मतदान स्थल र ३ हजार ८३२ मतदान केन्द्र निर्धारण गरिएको छ।
१५३ वटा मतदानस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखिएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेशमा ५ वटा मतदान केन्द्र अति संवेदनशीलका रुपमा वर्गीकरण गरिएको छ।
त्यस्तै १३७ वटा संवेदनशील र ११ वटा मतदानस्थल सामान्य अवस्थाकोमा वर्गीकरण गरिएको छ। निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गिकरण गरिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। उनले मतदान स्थलहरुलाई भूगोल, सीमा, सडक सञ्जाल, राजनीतिक दल, विकटता लगायतको अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेको बताए।
प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता मनसिंह डंगोलले म्यादी प्रहरी, नेपाल प्रहरी, मोबाइल गस्ती, सिभिल, अनुसन्धान, आपतकालीन फोर्सहरुबाट मतदान केन्दमा सुरक्षा प्रदान गरिने बताए।
भोलि हुने स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख मतदाताले मतदानमा भाग लिँदैछन्। १२ जिल्लाका १०९ स्थानीय तहका ३२ लाख १९ हजार ४५६ मतदाताले जनप्रतिनिधि चुन्नेछन्।
यस पटकको निर्वाचनमा रुपन्देहीमा सबैभन्दा धेरै ६ लाख २५ हजार ३६० मतदाता रहेका छन्। सबैभन्दा कम रुकुम पूर्वमा ३३ हजार ५१८ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले बताए। त्यस्तै दाङमा ४ लाख ९९ हजार २, अर्घाखाँचीमा १ लाख ६३ हजार ८१५, कपिलवस्तुमा ३ लाख ७३ हजार १०० मतदाता रहेका छन्।
गुल्मीमा २ लाख २४ हजार २७६, पश्चिम नवलपरासीमा २ लाख ३७ हजार १२५, पाल्पामा १ लाख ९९ हजार ६९०, प्यूठानमा १ लाख ५६ हजार ३४६, बर्दियामा ३ लाख ११ हजार ४१०, बाँकेमा ३ लाख २९ हजार ४७३ र रोल्पामा १ लाख ४५ हजार ४४४ मतदाता रहेका कुँवरले जानकारी दिए। लुम्बिनीमा ५० लाख जनसंख्या रहेको छ।
प्रदेशका चार वटा उप महानगरपालिकामध्ये सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा १ लाख १२ हजारभन्दा बढी रहेका छन्।
तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७ हजार मतदाता रहेका छन् बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाता छन्।
वैशाख २९, २०७९ बिहीबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।