स्थानीय तह निर्वाचन: ९ उम्मेदवारको मृत्यु, निर्वाचन कार्यतालिका हेरफेर

स्थानीय तह निर्वाचन: ९ उम्मेदवारको मृत्यु, निर्वाचन कार्यतालिका हेरफेर

काठमाडौंः भोलि हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूमध्ये ९ जनाको मृत्यु भएको छ। योसँगै उम्मेदवारको मृत्यु भएमा निर्वाचन स्थगित हुने प्रावधानअनुसार निर्वाचन आयोगले ती क्षेत्रमा निर्वाचन कार्यतालिका पनि हेरफेर गरेको छ।

आयोगका अनुसार वैशाख १४ गते नेपाली कांग्रेसको तर्फबाट सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ की दलित महिला सदस्य पदकी उम्मदेवार मडुवादेवी चमारको मृत्यु भएको थियो। हाल त्यो क्षेत्रमा निर्वाचन कार्यक्रम संशोधन गरिएको छ।

जनता समाजवादी पार्टीकी महिला सदस्य पदकी उम्मेदवार रौतहट वृन्दावन नगरपालिका- ५ की मीना देवीको वैशाख १६ गते मृत्यु भएको थियो। त्यहाँ पनि निर्वाचन कार्यक्रम संशोधन गरिएको छ।

मोरङको केराबारी गाउँपालिकाको वडा नम्बर २ को वडा सदस्य पदको उम्मेदवार नेपाली कांग्रेसका नवीन लिम्बूको पनि १६ गते नै मृत्यु भएको थियो। सोही दिन कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ८ का वडाध्यक्षका उम्मेदवार नेकपा एमालेका ओमप्रकाश तिवारीको मृत्यु भएको थियो।

१७ गते रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ की दलित महिला सदस्य एमालेकी कुसुमी पासिनको मृत्यु भएको थियो।

वैशाख २३ गते कपिलवस्तुकै कपिलवस्तु नगरपालिका वडा नम्बर १० का वडा सदस्य पदका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्र चौधरी थारुको मृत्यु भयो। सिरहाको सिरहा नगरपालिका- ५ की वडा सदस्य पदकी उम्मेदवार एमालेकी मुना सेखको पनि २३ गते नै मृत्यु भएको थियो।

यी सबै स्थानमा निर्वाचन कार्यक्रम संशोधन गरिएको आयोगले जनाएको छ।

यता कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको २७ गते मृत्यु भयो। उनी कांग्रेसकी उम्मेदवार थिइन्। २७ गते नै दाङको तुलसीपुर उपमहानगरपालिका- १७ का वडाध्यक्षका उम्मेदवार एमालेका लभरु चौधरीको मृत्यु भयो।

यी दुई स्थानमा नयाँ निर्वाचन कार्यक्रम तय गरिएको आयोगले जनाएको छ।

वैशाख २९, २०७९ बिहीबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।