बैंकिङ कसुर मुद्दाका फरार खड्की मनमैजुबाट पक्राउ
काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन्।
उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको टोलीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो।
खड्कीले प्रभु बैंक लिमिटेडमा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।
वैशाख २८, २०७९ बुधबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।