अफगानिस्तानमा करिब एक करोड बालबालिका भोकमरीको चपेटामा
एजेन्सी : गहिरो आर्थिक संकट, युक्रेन युद्धको प्रभाव र निरन्तर खडेरीका कारण अफगानिस्तानका करिब ९.६ मिलियन बालबालिकाले दैनिक रूपमा भोकमरीको शिकार भएका छन्। सेभ द चिल्ड्रेनले मंगलबार प्रकाशित गरेको एक प्रतिवेदनमा, 'तत्काल खाद्य सहायताको लागी आह्वान' गर्दै अहिलेसम्म रेकर्डमा रहेको त्यहाँको सबैभन्दा खराब भोकमरीको संकटसँग जुध्न पर्याप्त नभएको समेत जनाएको छ।
रिपोर्टमा भनिएको छ, 'हालैका महिनाहरूमा खाद्यान्न सहायताको ठूलो मात्रा पुर्याउदा पनि त्यहाँका १९.७ मिलियन बालबालिका र वयस्कहरू, जनसंख्याको लगभग ५० प्रतिशत मानिसहरु अझै पनि भोकै छन्। उनीहरूलाई बाँच्नको लागि तत्काल सहयोगको आवश्यकता छ।'
प्रतिवेदनअनुसार विगत २० हजार मानिसहरु त दुई–तीन महिनामा मात्रै भोकमरीको समस्यामा परेका छन्। फर्याब प्रान्तकी पाँच सन्तानकी आमा २६ वर्षीया मरियमले धेरै अफगानीहरूको अवस्था झल्काउँदै गुनासो गरिन्, 'म ऋण लिएर उनीहरूलाई खाना किन्न बाध्य छु, उनीहरूका लागि पर्याप्त खाना जुटाउन सकिरहेको छैन। कहिलेकाहीँ हामीले खाना पाईहाल्यौं भने पनि धेरै दिन भोकै बस्नु पर्ने अवस्था छ।' उनले भर्खरै मात्र कुपोषणबाट पीडित आफ्नो बच्चालाई अस्पताल लैजान पैसा उधारो लिएको पनि जानकारी दिइन्।
अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि बाह्य सहायतामा निर्भर भएको देशलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले प्रतिबन्ध लगाएका थिए। जबकि यस अघिकै अमेरिकाले यसको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गरेको थियो जसको कारण जसले बैंकिङ संकट पनि निम्त्याएको प्रतिवेदनले जनाएको छ। अफगानिस्तानमा प्रतिबन्धका कारण करोडौँ डलरको अन्तर्राष्ट्रिय सहायताहरू सुकेका छन्।
महिनौंदेखि, संयुक्त राष्ट्र र अन्य सहायता एजेन्सीहरूले त्यहाँ धेरै आवश्यक सहायता पुर्याउन प्रतिबन्धहरू चलायमान गर्ने प्रयास गरिरहेका छन्। 'हरेक दिन हाम्रा फ्रन्ट–लाइन स्वास्थ्यकर्मीहरूले एकदमै स्वास्थ्य खराब भएका बच्चाहरूको उपचार गरिरहेका छन्। जसले दिनमा एक पटक मात्र भए पनि खान खाइरहेका छन् उनीहरूलाई भाग्यमानी बन्नु पर्ने अवस्था छ।' सेभ द चिल्ड्रेनका एड्भोकेसी, सञ्चार निर्देशक एथेना रेबर्न भन्छिन्, 'अफगानिस्तानका बालबालिकाहरूले द्वन्द्व पछिको जीवन भोग्न नपरे पनि भोक र खाली पेटको संसार भने भोगिरहेका छन्।'
यस वर्षको उत्तरार्धमा १८.९ मिलियन बालबालिका र वयस्कहरूलाई खाद्य सहायता आवश्यक पर्ने अपेक्षा गरिएको भए तापनि खाद्य सहायताको लागि उपलब्ध रकमले ३.२ मिलियन मानिसहरूलाई मात्र सहयोग प्रदान गर्न सक्ने रेबर्नको भनाइ छ। अहिले उनले विश्वको ध्यान युक्रेनतर्फ केन्द्रित भइरहेका कारण पनि अफगानिस्तानको अवस्था झनै बिग्रँदै जाने उनले बताए। 'आवश्यक कोष बिना बित्ने हरेक दिन धेरै बालबालिकाले भोक रोक्न नसकेको कारण आफ्नो ज्यान गुमाउने गरेको देखिएको छ।'
मार्चमा मात्र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले राष्ट्रको सबैभन्दा ठूलो एकल–देश कोष अभियान सुरु गरेका थिए। जसमा खाद्य संकटबाट बच्न ४.४ बिलियन डलरको माग गरिएको थियो। तर दातृ राष्ट्रहरूले त्यो रकमको आधाभन्दा बढी मात्रै उपलब्ध गराएका छन्।
वैशाख २८, २०७९ बुधबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।