रोल्पाका २९ मतदान केन्द्र अतिसंवेदनशील

रोल्पाः जिल्लाका ८१ मतदानस्थल र १७३ मतदान केन्द्रमध्ये २९ मतदानकेन्द्र अतिसंवेदनशील रहेको छ। यस्तै ४० संवेदनशील र १२ समान्य रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन्।
जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिए पनि पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ।
उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको बताएका छन्। जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण भने सुरक्षा चुनौती थपिएकोे बताइएको छ।
रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको सापकोटाले जानकारी दिए।
रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता छन्। जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समयदेखि देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको हो।
यस्तै जिल्लामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन्।
वैशाख २८, २०७९ बुधबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।