तुलसीपुरमा झाडापखालाले अढाई वर्षीय बालकको मृत्यु, चार जना बिरामी

दाङः तुलसीपुरमा झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्। मृत्यु हुनेमा तुलसीपुर–११ का तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेका छन्।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीका अनुसार अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
यस्तै ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी परेका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको इन्चार्ज केसीले बताए। उनका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ।
बिरामी चारै जना एकै घरका भएको केसीले बताए। गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको बताइएको छ।
वैशाख २८, २०७९ बुधबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।