सिमेन्ट पुर्‍याएर फर्किएको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु

सिमेन्ट पुर्‍याएर फर्किएको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु
फाइल तस्बिर

म्याग्दीः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङ रहेका छन्। प्रहरी निरीक्षक राजन ढकालका अनुसार राम्जाली सवारीधनी र तितुङ चालक हुन्।

घटनास्थलबाट उनीहरूलाई उद्धार गरेर बेनी अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। हाल शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ। 

प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ। ट्रक सडकबाट करिब ६० मिटर तल खसेको देखिएको छ।

नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

वैशाख २८, २०७९ बुधबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।