स्वर्णधारी सञ्जुको मृत्युको कारण आत्महत्या भएको भन्दै प्रहरीले खुलायो पाँच कारण

स्वर्णधारी सञ्जुको मृत्युको कारण आत्महत्या भएको भन्दै प्रहरीले खुलायो पाँच कारण

ललितपुर : प्रशिक्षकको घरको कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको भारोत्तोलनकी राष्ट्रिय च्याम्पियन सञ्जु चौधरीले आत्महत्या नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ। प्रशिक्षक सञ्जय महर्जनको लुभुमा रहेको घरको भुईतलाको कोठामा मङ्गलवार सलको पासो लागेको अवस्थामा उनको शव फेला परेको थियो।

शवको पोस्टमार्टम सकिए पनि प्रतिवेदन भने आएको छैन।

१३ औँ सागमा स्वर्ण जित्ने पहिलो महिला भारोत्तोलन खेलाडीको कीर्तिमान बनाएकी उनको शव फेला परेको कोठाको अवस्था र शवको अवस्थाको आधारमा उनले आत्महत्या गरेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धि विक्रम मल्ले उकेरालाई जानकारी दिए।

'प्रारम्भिक अनुसन्धानमा आत्महत्या नै हो भन्ने देखिएको छ,' उनले भने' मोबाइल फरेन्सीक रिपोर्टका लागि पठाएका छौँ। पछि शङ्का लाग्ने केही प्रमाण खुले मात्रै। नत्र अहिलेसम्म आत्महत्या नै हो।'

शाहका अनुसार उनको मोबाइल अफ भएको अवस्थामा फेला परेकाले त्यसको डिटेल हेर्न प्रहरीको फरेन्सिक विभागमा पठाइएको छ। सामाजिक सञ्जालको गतिविधि लगायत पनि अनुसन्धान हुने उनले उकेरालाई जानकारी दिए।

उनले आत्महत्या गरेको बाहेक अन्य शङ्का गर्नुपर्ने केही क्लु नदेखिएको भन्दै उनले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकाल्नुका पाँच कारण खुलाए।

१- जानकारी आए लगत्तै घटनास्थलमा प्रहरी पुगेर हेर्दा कोठाको चुकुल भित्रबाट लक भएको अवस्था थियो। प्रहरीले ढोका फुटाएर कोठाभित्र प्रवेश गरेको थियो। झ्यालमा ग्रिल हालेकाले कोठाबाट बाहिर निस्कने माध्यम ढोका मात्रै देखियो।

२- कोठाभित्र कुनै दोस्रो व्यक्तिसँग हातापाई भएको वा कुनै सङ्घर्ष भएको देखिएन। कोठाको अवस्थामा सामान्य थियो।

३- घटनास्थलमा शवको अवस्थाको मुचुल्का गर्दा उनको शरीरमा कुनै चोट पटक फेला परेन।

४- कोठाभित्रको अवस्था हेर्दा भित्र जाने र बाहिर आउने माध्यम त्यही एक ढोका मात्रै देखियो। त्यसैले ढोका लक मृतकले नै गरेको देखियो।

५- ढोका भित्रबाट लक भएको अवस्थाले समेत तत्काल घटनामा दोस्रो व्यक्तिको संलग्नता देखिएन।

घटनास्थलमा आत्महत्या किन भन्ने खुलाउने कुनै प्रमाण फेला नपरेको एसपी शाहले जानकारी दिए। प्रहरीले सुसाइड नोट फेला पारेको छैन। कसैको उक्साहटमा आत्महत्या गरेको हो वा उनलाई कसैले आत्महत्या गर्न बाध्य बनाएको हो तथ्य खुली नसकेको उनले बताए।

सामाजिक सञ्जालमार्फत उनले सम्पर्क गरेका व्यक्ति वा उनको सम्पर्कमा रहेका व्यक्ति वा उनले आत्महत्या गर्नु अगाडि सम्पर्क भएका व्यक्तिको पहिचान भएमा त्यस कोणबाट समेत अनुसन्धान हुने उनले उकेरालाई जानकारी दिए।

वैशाख २७, २०७९ मंगलबार २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।