सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ११ घाइते

काठमाडौँ : देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
दाङको गढवा गाउँपालिका–७ घोराहास्थित सडकमा वाग्मती प्रदेश ०१–०२७ च ००७७ नम्बरको स्कारपियो र रा.६ प ७३७९ नम्बरको मोटरसाइकल सोमबार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गढवा गाउँपालिका–६ सिबिर बस्ने २३ वर्षीय सुरज चौधरी र मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ आटिपाकर बस्ने २० वर्षीय अरूण चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै काभ्रेको तेमाल गाउँपालिका–८ भोरज्याङबेशीस्थित सडकमा बा.३ ख २६४३ नम्बरको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकमा सवार चौरिदेराली गाउँपालिका बस्ने १६ वर्षीय कोसुबिक्षा तामाङ रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सडकमा प्रदेश २–०३–००९ प ७८६४ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०३–००१ ख ०१४५ नम्बरको ट्याङ्करले सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक हरिवन नगरपालिका–४ बस्ने ४५ वर्षीय राम बहादुर थापा रहेका छन्।
यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ज.१ ह ४८८३ नम्बरको टेम्पु सोमबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–१ बस्ने आशा देवी साहकी छोरी ८ वर्षीया जुली कुमारी साह रहेकी छन्। दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ टपरास्थित सडकमा को।३ त ६३ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–८ बस्ने १७ वर्षीय तप्रेज मिया रहेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीया मनमाया पाख्रिन रहेकी छन्।
वैशाख २७, २०७९ मंगलबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।