मत तान्न उम्मेदवारका नौला शैली

मत तान्न उम्मेदवारका नौला शैली

बुटवल : ‘प्रिय..., कुशल छु, स-परिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु।’

बुटवल उप महानगरपालिकाका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईको चिठ्ठीको सुरुको अंश हो। 

भट्टराईको हस्तलिखित पत्र अहिले सबै मतदाताको घर-घरपुगेको छ। सहकर्मी, आफन्त, नातेदार सबैलाई उनले अलग-अलग सम्बोधन गरेर पत्र पठाएका छन्। 

उनले पत्रमा ‘हाम्रो बटौलीलाई तपाईं-हामीले सोचे जस्तो सुन्दर, शान्त, हराभरा र व्यवस्थित सहर बनाउने भन्दै मत मागेका छन्।

भट्टराईले लेखेको चिठ्ठी नेकपा एमाले नगर कमिटीले प्रत्येक मतदाताका घरमा आज साँझसम्म पठाइसक्ने योजना बनाएको छ।

२०४६ साल अघिदेखि सँगै राजनीति गरेका सहकर्मी बाबुराम भट्टराईको हस्तलिखित चिठ्ठी देखेर आफू दंग परेको र पुराना कुरा सम्झाएको कमलबहादुर थापाले बताए। ‘चिठीमा लेखिएको सम्बोधन र व्यहोराले बाबुरामप्रति माया र सम्मानमात्रै बढेन भूमिगतकालको स्मरण भयो,’ थापाले भने। 

‘हामी पुराना जमानाका मान्छे, भूमिगतकालमा यसरी पत्र पठाउने र जवाफ कुरेर बस्ने प्रचलन थियो। चिठ्ठी देखेपछि त्यही बेलाको याद आयो,’ उनले थपे। 

नेपाली कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले पनि मतदाता आकर्षित पार्न चुनावी प्रचारका नयाँ-नयाँ शैली अपनाएका छन्।

केही दिनअघि गौशालामा गाईको पूजा गरेर फरक चुनावी प्रचार गरेका पाण्डेले हिजो मात्र प्रथम सहिद लखन थापा मगरको सालिकमा माल्यार्पण गरे।

बुटवलको चौराहा (लखन चोक)मा रहेको सालिकमा माल्यार्पण गर्दै उनले घर दैलो कार्यक्रम गरे। 

कुनै पर्व, दिवस विना नै लखन थापाको सालिकमा माल्यार्पण गर्नुको खास उद्देश्य मगरको मत आर्कषित गर्न हो।

देशमा जहानियाँ राणा शासनका विरुद्ध आवाज उठाउँदा लखन थापा मगर सहिद भएको उनले स्मरण गराउँदै अहिलेको परिवर्तन ल्याउन लागि सहिदहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा समेत उनले सो अवसरमा गरेका थिए।

वैशाख २७, २०७९ मंगलबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।