चन्द्रगिरिका मेयर उम्मेदवार श्रेष्ठको संकल्प : जति मत पाउँछु त्यति बिरुवा रोप्छु

काठमाडौं : नेपाल विवेकशील पार्टीबाट चन्द्रागिरि नगरपालिका प्रमुखका प्रत्यासी हुन् २८ वर्षीय सञ्जयचन्द्र श्रेष्ठ। कृषि उद्यम चलाइरहेका श्रेष्ठ साना-ठूला दल र स्वतन्त्र गरी २० जना उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दैछन्।
चन्द्रागिरि नगरपालिकामा आफ्नो दलको जति मत आउँछ त्यति बिरुवा रोप्ने संकल्प सहित उनी जनतासँग मत मागिरहेका छन्। एउटा बिरुवा रोपेर उम्मेदवारी दिएका श्रेष्ठले आफ्नो दलको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए।
चुनावी तयारी
'गरिखान सक्ने, बस्न लायक, सफा, हराभरा उद्यमशील नगरी चन्द्रागिरी' भन्ने नारा बोकेर म चुनावी अभियानमा होमिएको छु।
मैले सबै वडाको घरदैलो कार्यक्रम हिँडेर नै पूरा गरें। कुनै-कुनै पुराना वस्तीमा अन्तिम सभा गर्ने तयारी छ।
यो नगर पश्चिम काठमाडौँमा पर्ने हुँदा विभिन्न जिल्लाका नाका र एकदमै सम्भावना बोकेको क्षेत्र हो। पछिल्लो स्थानीय निर्वाचनपछि यहाँ विकासले जुन रुपमा गति लिनपर्ने थियो, त्यो हुन सकेन। त्यसको उल्टो झन् अस्तव्यस्तता, प्रदूषण, बढ्दो शहरीकरण, अत्यधिक जग्गाहरुको प्लटिङ गर्ने काम भयो।
बाटोहरु पनि गाडी गुड्नको लागि मात्र बनाएको अवस्था छ। पैदल यात्रुहरुको लागि कुनै सुविधा छैन। नगरपालिकाकै कार्यपालिकामा समेत भ्रष्टाचार भएको हामीले सुनेका छौं।
यो नगरको मुख्य समस्याको रुपमा रहेको अव्यवस्थित सहरीकरण र विकास निर्माण विनायोजना सञ्चालन भएका छन्। यसलाई परिवर्तन गर्दै राम्रो सहर बनाउनका लागि मेरो उम्मेदवारी हो।
गएको पाँच वर्षमा केही काम भए पनि नगरपालिका झन् अव्यवस्थित भएको छ। यी सब कुराहरुलाई चिर्नको लागि मैले आफ्नै माटोमा केही गर्नुपर्छ भनेर उम्मेदवारी दिएको हुँ।
सँगसँगै कृषि उद्यमी समेत भएको नाताले नाकामै रहेको सहरलाई हरियाली र व्यवस्थित सहर बनाउनको लागि मेरा केही योजना छन्।
व्यवसाय गर्नका लागि यहाँ वातावरण नै छैन। राज्य आफैं आर्थिक संकटमा छ। सबै युवा विदेशिएर त कहाँ हुन्छ र। अब आफैं केही नगरी हुँदैन। त्यसैले यहाँ युवाका लागि यतै बसेर काम गर्न सकिने वातावरण मिलाउने मेरो योजना छ।
पार्टीले टिकट दिनुको कारण
म यो पार्टीको सक्रिय सदस्य हुँ। दल दर्ता हुनुभन्दा अगाडिदेखि नै मैले विवेकशीलको अभियानमा संलग्न हुने मौका पाएँ। चन्द्रागिरि नगरपालिकाको एउटा उर्जाशील युवा हुनुका साथसाथै मैले आफ्नो छवि बिगारेको छैन। मसँग भएको विवेकशीलता र इमान्दारिता देखेर पार्टीले विश्वास गरेको हो। अब त्यही विश्वास स्थानीयबाट पनि जित्नु छ।
अजेन्डा
सर्वप्रथम त सुशासित र सुव्यवस्थित नगरपालिका बनाउनु नै मेरो पहिलो एजेन्डा हो। त्यसपछि महिला, अपाङ्ग तथा बालबालिकामैत्री विविधतायुक्त समावेशी नगरपालिका बनाउने मेरो योजना छ।
२४ घण्टा सुरक्षित तवरले हरेक नगरबासीले आवागमन गर्न सकिने गरी सुरक्षाको व्यवस्था मिलाउने, जीवनयापन, उत्पादकत्व वृद्धि तथा आर्थिक सम्पन्नतामा अघि बढाउने। स्वस्थ तथा गुणस्तरिय कृषि उत्पादन, कृषि पर्यटन र पर्यावरण संरक्षण, धुलोधुवाँ रहित सफा सुरक्षित सडकको निर्माण गर्ने मेरो लक्ष्य छ।
त्यस्तै समान गुणुस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका आधारभूत सुविधाहरु सुनिश्चित गर्दै प्रदेश तथा संघीय सरकारमा समन्वय र सहकार्य गर्नेछु।
अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन सबै क्षेत्रको डिपिआर बनाउनु पर्नेछ। कुन क्षेत्र के-को लागि योग्य छ त्यसको वर्गीकरण गर्न आवश्यक छ। त्यसपछि कहाँ कृषि गर्ने, कहाँ औधोगिक क्षेत्र स्थापना गर्ने र कहाँ सहरीकरण गर्ने, कहाँ नगर्ने छुट्याउँदै व्यवस्थित बनाउने छौँ।
अबको ५ वर्षको लागि मात्र नभएर त्यो भन्दा बढी समयसम्मका लागि दिगो विकासको अवधारणा बनाउँदै अगाडि बढ्नेछु।
यहाँका अनेक समस्याको समाधानका लागि आफू सक्षम छु जस्तो लाग्छ। काम गर्नको लागि सबै क्षेत्रको विज्ञ भइराख्नु पर्दैन र हुन पनि सक्दैन। बरु आफू नेतृत्वमा पुगिसकेपछि विज्ञहरुको व्यवस्थापन कसरी गर्ने र उहाँहरुको विज्ञतालाई कसरी समाज रुपान्तरणको लागि प्रयोग गर्ने भन्ने कुरा निर्धारण गर्न सक्नुपर्छ। त्यो व्यवस्था पनि हामी मिलाउँछौँ।
अरुभन्दा कसरी फरक?
एउटा मूल्य-मान्यता भएको युवा उम्मेदवार हुँ म। उमेरले पनि यहाँका अरु उम्मेदवारभन्दा युवा छु। युवा जोस र जाँगर बोकेको एउटा कृषि उद्यमी भएको कारण मैले माटोलाई राम्रोसँग बुझ्ने मौका पाएको छु। समाजको लागि केहि गर्छु भनेर आएको हुँ। माटोप्रति इमान्दारिता र बफादारिता देखाउन आएको कारण पनि म अरु उम्मेदवारभन्दा फरक छु।
जित्ने आधार
म जति मतदाताका घरमा पुगें, त्यहाँ मैले ठूला दलहरुप्रति जनताको वितृष्णा भएको पाएँ। युवाहरुमा त झन् दल मात्र होइन, राजनीतिप्रति नै वितृष्णा छ। यस्तो अवस्थामा म फरक मत भएको र नयाँ जोस र जाँगर भएको युवा उम्मेदवार हुनु नै मेरो जित्ने आधार हो।
ठूला पार्टीबीचको विवाद, उहाँहरुले गर्नु भएको काम र उहाँहरुले स्थानीयलाई दिएको निराशाबीच यहाँकै स्थानीय युवा प्रतिद्वन्दी हुनुले पनि मेरो जित्ने आधार बलियो भएको छ। प्रतिवद्दता र योजना मैले धेरैभन्दा धेरै मतदातामाझ पुर्याइसकेको छु। त्यसमा उहाँहरुको सकारात्मक प्रतिक्रिया छ।
मैले मतदाता सामु जति प्रतिवद्धता गरेको छु ती पूरा गर्न सकिनँ भने म स्वत: सजायको भागिदार हुन्छु। स्थानीयले जेजे सजाय दिनुहुन्छ म भोग्न तयार छु।
वैशाख २७, २०७९ मंगलबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।