बाँके र बर्दियाका सीमा नाका आजदेखि बन्द

बाँकेः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ। भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उनले बताए।
यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो। दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो।
बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ।
वैशाख २७, २०७९ मंगलबार ०८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।