स्वतन्त्र उम्मेदवारको हाइहाइहुँदा किन गुमनाम छन् साझा र विवेकशीलका उम्मेदवार !

स्वतन्त्र उम्मेदवारको हाइहाइहुँदा किन गुमनाम छन् साझा र विवेकशीलका उम्मेदवार !

काठमाडौँ : २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौँमा २ जना उम्मेदवारको चर्चा राष्ट्रिय दलका उम्मेदवार भन्दा बढी थियो। साझाबाट मेयर उम्मेदवार बनेका किशोर थापा अनि विवेकशीलकी मेयर उम्मेदवार रञ्जु दर्शना।

दुवै दल मिलेर बनेको विवेकशील साझासँगै दोस्रो पटक एकीकरणमा सहभागी नभएको समूह यो पटक पनि काठमाडौँसहितका तहमा उम्मेदवार छन्। तर छायामा। काठमाडौँ महानगरमा मेयरका उम्मेदवार बालेन साह अनि पोखरा महानगरपालिकामा मेयरसहित वडाहरूमा उम्मेदवारी दिएका अटेरी समूहका गनेश पौडेल समूह राष्ट्रिय राजनीतिमै चर्चामा छन्।

तर वैकल्पिक राजनीतिको मियो बन्ने भनिएका दुवै दलका उम्मेदवारको अत्तोपत्तो छैन। काठमाडौँमा विवेकशील साझाबाट उम्मेदवार बनेकाहरू केही सार्वजनिक मञ्चमा देखिएका छन्। तर मतदातामा पुरानो क्रेज छैन उनीहरूमा।

पार्टीका नेताहरू नै अध्यक्ष रवीन्द्र मिश्र अनि कारबाहीमा परेका संयोजक मिलन पाण्डे समूहमा विभाजित छन्। विवेकशील साझाले २९ जना प्रमुखसहित २ सय ७६ जना उम्मेदवार उठाएको छ। तर काठमाडौँ महानगरपालिकाकै उम्मेदवार छायामा छन्।

विवेकशील साझाले यस पटकको चुनावमा काठमाडौँ, भरतपुर, पोखरा, ललितपुर, र विराटनगर महानगर सहित विभिन्न तहमा प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यलाई उम्मेदवार बनाएको छ।

पार्टीले २ सय ७६ उम्मेदवार उठाएको चुनावी अभियान प्रमुख अनुपा श्रेष्ठले उकेरालाई जानकारी दिइन्। पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ। तर उनीहरू स्वतन्त्र उम्मेदवार बालेन साहको चर्चाले थिचिएका छन्।

मिश्रको राजनीतिक लाइनले कमजोर

वैकल्पिक राजनीतिको धार बलियो बनाउने भन्दै विवेकशीलका पाण्डे समूह साझामा फर्किए पनि पार्टी अध्यक्ष मिश्रको राजनीतिक लाइनमा सहमति हुन नसक्दा पार्टी कमजोर बन्दै गयो।

पार्टीको सम्झौता पत्र अनुरूप एकता महाधिवेशन छल्ने, एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै पाण्डे समूह विद्रोहमा उत्रियो। मिश्रले विवेकशीलबाट आएका अधिकांशलाई कारबाही गरेर पार्टीबाट निकाले।

काठमाडौँ महानगरपालिकामा साझाबाट उम्मेदवारी दिएका मेयर-उपमेयर उम्मेदवार

पाण्डेले माघ २६ मा अध्यक्ष मिश्रविरुद्ध निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतमा रिट दिए। सो मुद्दा अझै किनारा लागेको छैन। मिश्र आफू निकटहरूलाई उम्मेदवार बनाएर प्रचारमा खटिएका छन्। तर पुरानो साख फर्काउन सकेका छैनन्। पाण्डे समूह स्वतन्त्र उम्मेदवार उठाएर निर्वाचनमा होमिएको छ। उनीहरू पनि चर्चाभन्दा बाहिरै छन्।

संयोजक पाण्डेको २ दर्जन भन्दा बढीले स्वतन्त्र उम्मेदवारी दिएको र करिब आधा दर्जनले पार्टीबाटै उम्मेदवारी दिएको बताए। आफ्नो चुनावी तयारीबारे पाण्डे भन्छन्, 'पार्टीका केही साथीहरू स्वतन्त्रबाट र केही पार्टीबाटै पनि उठ्नु भएको छ। उहाँहरूलाई सहयोग गरिराखेका छौँ' उनले भने।

उनले निर्वाचनको बेलामा विवाद थाँती राखेर जो जहाँबाट उम्मेदवार बने पनि सघाइरहेको बताए। उनले अहिले विवादभन्दा पनि निर्वाचनलाई प्राथमिकता दिएको दाबी गरे।

पुराना नेताबाट धोका

काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। सम्मानजनक मत पाएकी उनी राजनीतिमा सक्रिय हुँदै पाँच वर्षपछि बलियो उम्मेदवारको रूपमा उदाउने महानगरवासीको अपेक्षा थियो। तर उनी हराइन्। २३ हजार मतदाताको विश्वास कायम राख्न सकिनन्।

किशोर थापाले १८ हजार ४ सय ९६ मत पाएका थिए। उनी पनि निर्वाचनपछि हराए। महानगरमा जितेको एमालेका मेयर विद्यासुन्दर शाक्यको प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेनन्।

स्थानीय तहको निर्वाचनमा थापा बेपत्ता छन्। उनी पार्टीको कुनै मञ्चमा देखिएका छैनन्। न त उनी पार्टीबाट काठमाडौँ महानगरमा मेयर र उपमेयरको उम्मेदवार बनेकाहरूको प्रचार देखिन्छन्।

दुलहीको भेषमा रञ्जु

मिश्रबाट कारबाहीमा परेकी दर्शना चुनावको चटारो छाडेर वैवाहिक सम्बन्धनमा जोडिइन्। स्थानीय तहको निर्वाचनमा स्थानीय मुद्दा तातिइरहेको समयमा उनी दुलही बनेर मण्डपमा थिइन्। यो पाली पनि उनी उम्मेदवार बन्छिन् कि भन्ने आसमा रहेका महानगरवासीलाई'अब स्थानीय राजनीतिक नगरी केन्द्रीय राजनीति गर्ने' भन्ने फेसबुकमा सन्देश राखेर उनी निष्क्रिय बसिन्।

विवेकशीलको सहभागिता साङ्केतिक मात्रै

साझासँगको दोस्रो चरणको एकिककरणमा सहभागी नभएको विवेकशील समूह यो निर्वाचनमा कुकुर चुनाव चिन्ह नेपाल विवेकशील पार्टीको नाममा निर्वाचनमा सहभागी भएको छ। विवेकशीलका संस्थापक उज्ज्वल थापा दोस्रो एकीकरणमा सहभागी नभई यही विवेकशील समूहसँग थिए। तर उनको निधन भयो। निधनपछि कर्मा लामा तामाङको अध्यक्षतामा नयाँ पार्टी दर्ता भयो।

गत स्थानीय तहको निर्वाचनमा उनीहरू विवेकशील नेपाली दलको नाममा निर्वाचनमा सहभागी भएका थिए। तर सो दलको नाममा साझासँग एकीकरण भएकाले आयोगले नाम दिन नमानेपछि उनीहरूले नेपाल विवेकशील पार्टी दर्ता गरेका थिए। अनि पहिलो पटक दलका थापासहितका उम्मेदवार स्वतन्त्र रूपमा उठ्दा पाएको कुकुर चिन्हलाई आफ्नो चुनाव चिन्हका रूपमा छानेका थिए।

पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटी यो पटक केही स्थानमा पार्टीबाटै र केही स्थानमा स्वतन्त्र उम्मेदवारहरूलाई समर्थन गरेको बताए। उनका अनुसार काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार सुशील थापालाई विवेकशीलले समर्थन गरेको छ। स्रोतका अनुसार काठमाडौँको मेयरमा बालेन साहलाई समर्थन गर्न  यो समूहले छलफल पनि गरेको थियो। तर धर्मनिरपेक्षको सवालमा उनी प्रस्ट नदेखिएपछि थापालाई समर्थन गर्ने निर्णय गरेको थियो।

'उहाँसँग छलफल भएको थियो। अन्य मुद्दामा कुरा मिले पनि धर्मनिरपेक्षतामा उहाँ अलि प्रस्ट हु नसक्नु भएन। समर्थन गरेको उम्मेदवार भोलि धर्म निरपेक्षताको विरोधमा गए पनि पार्टीको नीति कमजोर हुनसक्ने भएकाले हामीले थापालाई समर्थन गर्यौँ,' विवेकशीलका एक नेताले भने।

बुढानीलकण्ठमा पनि मेयरका स्वतन्त्र उम्मेदवार सुमित खरेललाई समर्थन गरेको छ। चन्द्रागिरि नगरपालिकामा मेयरमा पार्टीबाटै सञ्जय चन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन्।

मकवानपुरको १७ नम्बर वडामा वडा अध्यक्षसहित टिमै उठाएको, सप्तरीको हनुमाननगर कंकाली नगरपालिकामा मेयर र २ वटा वडामा अध्यक्ष चार वडा सदस्य उम्मेदवार बनेको र झापाको अर्जुनधारामा वडा अध्यक्षमा टंक चौलागाई उम्मेदवार बनेको शिवाकोटीले उकेरालाई जानकारी दिए।

गत स्थानीय तहको निर्वाचनमा भन्दा पनि किन यस्तो कमजोर उपस्थिति भन्ने प्रश्नमा उनले साझा पार्टीसँग भएको पहिलो एकीकरण सफल नहुँदा त्यसको प्रभाव पार्टीको सङ्गठनमा परेको बताए।

'हामीले दलभन्दा पनि यसलाई अभियानको रूपमा अगाडि बढाइरहेका थियौँ। बिचमा साझासँगको एकता अगाडि नबढेपछि अलग सङ्गठनमा सक्रिय भयौँ,' उनले भने' पार्टीका एक समूह पुन दोस्रो पटक साझासँग एकता गर्न जानुभयो। हामी अहिले कमजोर अवस्था देखिए पनि सङ्गठनमै लागिरहेका छौँ।'

उनले आगामी सबै निर्वाचनमा पार्टीका उम्मेदवारसँगै एजेन्डा मिलेको अवस्थामा स्वतन्त्र उम्मेदवार उठाएर निर्वाचनमा सहभागी हुने र पार्टी सङ्गठन र विवेकशील अभियान पनि सँगै बढाउँदै लैजाने बताए।

वैशाख २६, २०७९ सोमबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।