गठबन्धन चुनावका लागि मात्र होइन, शान्ति प्रक्रियालाई पूर्णता दिन पनि हो : उपसभापति खड्का

गठबन्धन चुनावका लागि मात्र होइन, शान्ति प्रक्रियालाई पूर्णता दिन पनि हो : उपसभापति खड्का

वीरेन्द्रनगर : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन्। कसैलाई जिताउन वा हराउनका लागि नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनले बताएका छन्।

उपसभापति खड्काले आज सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे। 'गिरिजाबाबु र प्रचण्डले सुरुआत गर्नुभएको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ', खड्काले भने, 'त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ।' 

उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताए। 

'आफ्ना प्रतिस्पर्धाका कुरा काटेर होइन आफ्ना प्रतिबद्धता राखेर मत माग्नुहोस', गठबन्धनका नेतालाई उनले भने, 'आफ्ना कार्यक्रम र प्रतिबद्धता राखेर भोट मागौँ, इमानको राजनीति गर्नुपर्छ, कुरा काटेर होइन।' नेपाली कांग्रेसका उपसभापति खड्काले विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन वीरेन्द्रनगरका मतदातालाई आग्रह गरेका छन्।  

वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। यो पालिकामा कांग्रेसले प्रमुखमा उपेन्द्र खड्कालाई र उपप्रमुखमा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएको छ। 

वैशाख २६, २०७९ सोमबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।