नेपालमा मैले बोलेको बुझ्ने बुद्धिजीवी छैनन्ः ओली

नेपालमा मैले बोलेको बुझ्ने बुद्धिजीवी छैनन्ः ओली

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूले बोलेको कुरा बुझ्ने बुद्धिजीवी नभएको दाबी गरेका छन्। उनले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का हालेको भनेर बौद्धिक बर्गले नै उडाएको गुनासो गरे। 

उनले भने ,‘हामीलाई सिद्ध्याउन विभिन्न आरोपहरू लगाइयो। हुँदै नभएको आरोप लगाएर बदनाम गर्न खोजियो, आफुले बोलेका कुरालाई बंग्याएर प्रस्तुत गर्न खोजियो। नेपालमा मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि जस्तो लाग्यो। मैले हाम्रो शास्त्रका कुरा गर्दा उखान टुक्का हाल्यो भन्छन्।’

ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन्। पशुपतिमा फूलपाती लिएर गयौँ भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ। यहाँ (चुनावमा) पाँच वटा छन्। हामी सतर्क हुन जरुरी छ। धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए।  ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन। मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईँका सहयोग एमालेलाई चाहिँदैन। तटस्थ निर्वाचन गराउनुस्।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन्। ‘परमादेशबाट आएको गठबन्धन हो। कसले फालेको हो थाहा छैन। यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने।

वैशाख २६, २०७९ सोमबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।