उदयपुर र कैलालीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौंः उदयपुर र कैलाली जिल्लामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिका- १ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन्। गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश१-०५-००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भई पल्टिएको हो।
यस्तै कैलालीको भजनी नगरपालिका- ६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भजनी नगरपालिका- २ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन्।
गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो। हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका वृद्धलाई ठक्कर दिएको हो।
मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको छ।
वैशाख २६, २०७९ सोमबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।