'असार १७ को क्षेप्यास्त्र बीचैमा गिर्छ'

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले असार १७ गते गठबन्धनमाथि संकट आउँछ भन्दै पैदा गराएको त्रास अफवाह भएको बताएका छन्। आज कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
'उहाँले साइको मनोवैज्ञानिक प्रभाव दिनुभएको हो। उहाँले क्षेप्यास्त्र हानेको हो, असार १७ बारे। त्यो क्षेप्यास्त्र बीचैमा गिर्छ', महतले भने।
यस्तै उनले चुनावी तालमेल संविधान जोगाउन गरिएको पनि बताए। 'वृहत्तर अर्थमा हामीले उदारपूर्वक यस्तो गरेका हौँ। पार्टीले गरेको निर्णय सही छ', उनले भने।
उनले एमालेलाई असफल भएको पार्टी भन्दै ओलीलाई कुन मुखले भोट माग्ने? भन्दै प्रश्न समेत गरेका थिए। उनले सत्ताको दुरुपयोग पनि एमालेले गरेको आरोप लगाएका थिए।
प्रवक्ता महतले एमालेलाई निर्वाचन आचारसंहिता समेत नलागेको बताउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
ओलीले कांग्रेस सभापति देउवामाथि आचारसंहिता उल्लङ्घनको आरोप लगाएपछि प्रवक्ता महतले त्यसको जवाफमा भने, 'चुनाव प्रचारमा के सभापति हिँड्दै जाने त? निर्वाचन आयोगको सहमतिमा सीमित सवारी प्रयोग भएको छ। प्रचारमा जान निजी गाडी प्रयोग गरिएको छ।ओलीले मात्र प्रयोग गर्न पाउने त सवारी साधन?'
महतले आरजुमाथि ओलीले लगाएको आरोप पनि मिथ्य भएको दावी गरे। उनले उल्टै प्रश्न ओलीमाथि नै गरे, 'उरन्ठेउलो घरमूलीले घर चलाए के हुन्छ?'
वैशाख २६, २०७९ सोमबार १२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।