मान्छेमाथि आक्रमण गर्ने चितुवालाई स्थानीयले मारे

स्याङ्जाः हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारेका छन्। आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको थियो।
स्थानीय रेशम गोतामेका अनुसार घरनजिकै झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको थियो। मान्छेमाथि आक्रमण गरेपछि स्थानीयले काठको दाउराले टाउकोमा हानेर मारेका हुन्।
चितुवाको आक्रमणबाट ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते भएका छन्। उनलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ।
चितुवा मरेपछि प्रहरी र ईलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ।
वन अधिकृत थापाका अनुसार पोथी जातको चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ।
वैशाख २६, २०७९ सोमबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।