ओलीले ऋण लिएर घ्यू खाने काम गरे: कांग्रेस प्रवक्ता महत

ओलीले ऋण लिएर घ्यू खाने काम गरे: कांग्रेस प्रवक्ता महत

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली अझै सरकारमा रहेको भए देश श्रीलङ्काको बाटो जानसक्ने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

यस्तै प्रवक्ता महतले कांग्रेसको सरकार आएकाले देश अनुदानमय भएको भन्दै आफ्नो सरकारको प्रशंसा पनि गरेका छन्। यस्तै अमेरिकाले पुनः नेपाललाई ८० अर्ब अनुदान दिने पनि बताएका छन्। 'ओली सरकारमा भएको भए श्रीलङ्काको बाटोमा पुग्थ्यो। अब अनुदानमय भएको छ। बिजुली र सडक बन्दैछ। ८० अर्ब फेरि दिने भएको छ अमेरिकाले', उनले भने।

ओलीले कांग्रेस पार्टीमाथि हिजोको पत्रकार सम्मेलनमा लगाएको आरोपउपर जवाफ दिँदै उनले कांग्रेस अग्रणी पार्टी भएको र नाङ्गो भइसकेको डाँडामा हरियाली ल्याउने पार्टी भएको पनि बताएका छन्। यस्तै उनले कांग्रेसमाथि विरोध गर्ने एमालेसँग कुनै आधार नभएको पनि बताएका छन्।

महतले उल्टै एमालेमाथि आरोप लगाए। उनले समावेशी राजनीति ल्याउन कांग्रेस भएको बताउँदै एमालेले पटक पटक समावेशिताको विरोध गरेको बताए। यस्तै कोरोना महामारीको बेलामा ओली नेतृत्त्वको सरकारले कमिसन काण्ड मच्चाएको पनि महतले आरोप लगाए।

'एमसीसी प्रस्तावको नाटक मञ्चन गरे। पछि पास गर्नै सकेनन्। पानीजहाज आयो तर, कोलकातामै छ। रेलको सर्भेक्षण समेत देउवाको पालामा भयो। गफमात्रै गर्ने हुन् ओली', उनले भने। 

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समेत सन्तुलनमा राख्न नसकेको पनि उनले एमाले र ओलीमाथि आरोप लगाए।

'लिम्पियाधुरा त हाम्रो जमीन हो। सबैलाई थाह नै छ। हामीले पास पनि गरेकै हो संसद्मा', उनले भने, 'उहाँहरूले बोल्न सक्नुभएन। हाम्रो प्रधानमन्त्रीले भारतमै भन्नुभयो- सीमा विवाद अन्त्य गरौँ भनेर।' 

उनले एमाले र कांग्रेसले बराबर जस्तो सत्ताको नेतृत्त्व गरेको भए पनि एमालेले सबैको दोष कांग्रेसमाथि थुपारेको महतले बताए।

यस्तै देशमा ऋण पनि ओली सरकारको पालामा थपिएको महतले दावी गरे। 'ऋण लिएर घ्यू खाने काम गरे', महतले भने। 

यस्तै १९ अर्बको प्रधानमन्त्री स्वारोजगार कार्यक्रममार्फत पनि उनले कार्यकर्ता पोसाउने काम मात्र गरेको महतको आरोप थियो।

वैशाख २६, २०७९ सोमबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।