दाउद इब्राहिमविरुद्ध ठूलो कारबाही सुरु, २० ठेगानामा एनआईएको छापा

दाउद इब्राहिमविरुद्ध ठूलो कारबाही सुरु, २० ठेगानामा एनआईएको छापा

एजेन्सीः भारतको नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए)ले कुख्यात डन दाउद इब्राहिमको २० भन्दा बढी ठेगानामा छापा मारेको छ। सोमबार भारतको मुम्बई शहरको विभिन्न ईलाकामा एनआईएले छापा मारेको हो।

छापा मारिएको क्षेत्रमा दाउदको नजिक मानिने छोटा शकील, जावेद चिकना, टाइगर मेनन, इकबाल मिर्ची, दाउदकी बहिनी हसीना पारकर लगायतको बसोबास रहेको बताइएको छ। यी क्षेत्रमा शार्प सुटर र तस्करहरू समेत रहेको अनुमानमा एनआईएले छापा मारेको हो।

एनआईएले सोमबार गुप्त कारबाही गरेको हो। देशविरोधी काम र अवैध रकम असुलीको आरोपमा कारबाही गरिएको बताइएको छ।

गत फेब्रुअरीमा गृह मन्त्रालयको आदेशमा एनआईएले दाउद इब्राहिम (डी कम्पनी)को विरुद्धमा मुद्दा दायर गरेको थियो। सोही मामिलामा यो छापा मारिएको हो।

दाउदलाई भारतले 'भगौडा आतंकवादी'को संज्ञा दिएको छ। यस्तै सन् १९९३ को बम विस्फोटको मुख्य आरोपी दाउदको टाउकोमा २५ मिलियन डलरको पुरस्कार छ। डी कम्पनीलाई संयुक्त राष्ट्रसंघले प्रतिबन्धित आतंकवादी संगठन घोषित गरेको छ।

भारतले लामो समयदेखि दाउद पाकिस्तानमा लुक्दै आएको बताउने गरेको छ। दिल्ली पुलिसले उनको पछिल्लो कल नोभेम्बर २०१६ मा रेकर्ड गरेको थियो।

वैशाख २६, २०७९ सोमबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।