धनुषामा मङ्गलबारबाट मदिरा बिक्री तथा सेवनमा रोक, सीमा पनि बन्द हुने
धनुषाः जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबारदेखि मदिरा बिक्री तथा सेवामा रोक लगाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थको बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिएका हुन्।
यस्तै निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सीमा नाका समेत बन्द रहने उनले बताए। मङ्गलबार राति १२ बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाका पूर्ण बन्द रहने प्रजिअ पौडेलको भनाइ छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको उनले बताए।
मङ्गलबार राति १२ बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधनबाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको छ।
वैशाख २६, २०७९ सोमबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।