गठबन्धनको चुनावी सभा आज धनगढीमा, देउवा र प्रचण्ड आइतबारै पुगे

काठमाडौंः सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुने भएको छ। आज बिहान ११ बजे हुने चुनावी सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतले सम्बोधन गर्नेछन्।
चुनावी सभालाई सम्बोधन गर्न दुवै नेता आइतबारै धनगढी पुगेका छन्। देउवा धनगढीमा आफ्नै निवासमा बसेका थिए। प्रचण्ड भने धनगढीको रुबस होटेलमा बसेका थिए।
गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वड मेयर र माओवादीकी शान्ति अधिकारी उपमेयरका उम्मेदवार छन्। उनीहरूको पक्षमा माहोल बनाउन र मत माग्न आज धनगढीमा चुनावी सभा आयोजना गरिएको हो।
धनगढीको सभालाई सम्बोधन गरेर देउवा आजै गृहजिल्ला डडेलधुरा जानेछन् भने प्रचण्ड माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जानेछन्।
वैशाख २६, २०७९ सोमबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।