आसन्न निर्वाचनका कारण पर्वत प्रशासनद्वारा चार दिनका लागि सेवा स्थगित

पर्वतः जिल्ला प्रशासन कार्यालय पर्वतले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चार दिनका लागि स्थगित गरेको छ। निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने भन्दै सेवा स्थगित गरिएको हो।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ।
त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि स्थगित हुने भएका छन्। जिल्लामा निर्वाचनका लागि एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन्।
यस्तै चुनाव अवधिभर जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा पनि प्रतिबन्ध गरिएको छ। निर्वाचनलाई लक्षित गरी प्रशासनले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न नगराउन आदेश जारी गरेको हो।
त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवाका र अनुमति लिएका सवारी साधनबाहेकका अन्य सवारी बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न/नगराउन पनि प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले जारी सूचनाविपरीतका कार्य गरेमा कानूनअनुसार कारबाही गरिने समेत प्रजिअ सापकोटाले बताएका छन्।
वैशाख २६, २०७९ सोमबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।