कांग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा कांग्रेसले सबैलाई मिलाउने काम गरेको बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आज आयोजित चुनावी कोणसभामा उहाँले सबैलाई मिलाएर लैजान सक्ने क्षमता कांग्रेससँग मात्र रहेको जिकिर गरे।
नेता पौडेलले समाजमा विभाजन नभई एकता कायम गर्ने कांग्रेसको मूल ध्येय रहेको बताए। उनले भने, 'बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर हिँड्न चाहन्छौँ। कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसको नेतृत्व स्वीकार गरेर गठबन्धन गर्न आउनुभएको छ।'
नेता पौडेलले एकताको विकास गर्नका लागि राजनीतिक धु्रवीकरण बढाउने नभई घटाउनेतर्फ कांग्रेस लागेको उल्लेख गरे। 'विसं २०७४ मा कम्युनिष्टहरु मिलेर कांग्रेससँग प्रतिस्पर्धा गरे, त्यो गठबन्धन धेरै समय टिक्न सकेन, दुई तिहाईको सरकार कम्युनिष्टकै कारण विघटन भयो', उनले भने।
नेता पौडेलले शुक्लागण्डकी नगरपालिकामा पनि गठबन्धन गरेर चुनाव लडेकाले उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे।
वैशाख २५, २०७९ आइतबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।