म चितवनका जनतालाई धम्क्याउन आएको होइनः बादल

म चितवनका जनतालाई धम्क्याउन आएको होइनः बादल

काठमाडौँ : एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन्। भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्त्वबारे धारणा राख्न भरतपुर आएको बताए। 

‘म तपाईहरुलाई धम्क्याउनको निम्ति यहाँ उपस्थित भएको छैन। म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन। म सहयात्रीलाई घुर्क्याउन पनि उपस्थित भएको छैन,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्त्व छ भन्ने बारे धारणा राख्न चाहन्छु।’ 

अहिले देश ऐतिहासीक मोडमा आएको उनले जनाए। यो मोड नयाँ चुनौती र अवसर लिएर आएको उनले बताए। आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी सामना गर्ने भन्ने प्रश्न उठेको छ। नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ। नेपालका नेता कार्यकर्ताहरूले यी प्रश्नहरूको उचित जवाफ दिनुपर्ने भएको छ,’ उनले भने। 

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उनले जनाए। एउटा धार ठूला पुँजीपतिहरूको जसको प्रतिनिधित्व पाँच दलीय गठबन्धनले गरेको उनले जनाए। अर्को धार देशभक्तहरूको रहेको, जसको नेतृत्व एमालेले गरेको उनले बताए। 

वैशाख २५, २०७९ आइतबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।