बालेन साहको रोजाइमा राजेन्द्र लिङदेन, राजा र राष्ट्रपतिमा छान्न सकेनन्

बालेन साहको रोजाइमा राजेन्द्र लिङदेन, राजा र राष्ट्रपतिमा छान्न सकेनन्

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरूमध्ये काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन साहको चुनावी प्रचार शैली अलि भिन्न छ। काँधमा राष्ट्रिय झन्डा बोक्ने मात्रै हैन उनले अपनाएको रणनीति पनि भिन्न छ। प्राय उम्मेदवारहरू राजनीतिक गन्थन हुने संवाद कार्यक्रममा मात्र सहभागी भइरहेका छन्। तर बालेन भने अफट्रयाकका कार्यक्रमहरूमा समेत गइरहेका छन्।

कमेडी क्लवविथ च्याम्पियन्सदेखि उनी फिल्मी कार्यक्रमहरूमा समेत अतिथि भएर गइरहेका छन् उनी। युट्वमा मात्रै प्रसारण हुने च्यानलदेखि ट्विटर स्पेससम्म छाडेका छैनन् उनले आफ्ना कुरा राख्न।

शनिवार उनी यस्तै एक कार्यक्रममा गए ग्ल्यामर गफमा। एपिवानमा प्रसारण हुने कार्यक्रममा उनले राष्ट्रिय झन्डाको दुरुपयोग गरेको आरोपदेखि आफ्नो जीतको आधार अनि आफूलाई मन पर्ने नेताहरूबारे समेत बोले।

अन्य राजनीतिक दलबाट उम्मेदवार बन्न खोजेको तर मौका नपाएपछि स्वतन्त्र बनेको आरोपदेखि अनेक आरोपमा उनले प्रस्टीकरण दिएका थिए। उनले दलको उम्मेदवार बन्न नखोजेको बरु दलले स्वतन्त्र उम्मेदवार बने पनि आफ्नो चुनाव चिन्ह लिन आग्रह गरेको तर आफूले अस्वीकार गरेको दाबी गरेका थिए।

राष्ट्रिय झन्डाको दुरुपयोगको बारेमा कार्यक्रममा उनको स्पष्टीकरण थियो' झन्डा भनेको कसैको व्यक्तिगत सम्पत्ति हैन। दुरुपयोग भएको हैन सदुपयोग भएको हो। परिवर्तन हुनुपर्छ त्यो काठमाडौँबाट सुरु हुनुपर्छ भनेर राष्ट्रिय झन्डा बोकेर हिँडेको हुँ।'

उम्मेदवार भएपछि अनेक आरोप लाग्छन् नै। उनीबारे पनि अनेक आरोपहरू आइरहेका छन्। एक आरोप थियो' उनको २ जना आमा छन् त्यसमध्ये एक जना वृद्धाश्रममा छिन्।' उनले आफ्नो २ जना आमा भएको स्विकारे। तर एक जना आमा वृद्धाश्रममा रहेको गलत भएको दाबी गरे।

उनले ५० वर्ष पुरानो गाली गलौचको शैली अपनाउने गरेको तर अहिले काठमाडौँ महानगरमा त्यसको कुनै प्रभाव नपर्ने उनको दाबी थियो। यस्ता आरोपको प्रभाव नपार्ने भन्दै आफूले भारतको आम आदमी पार्टी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनि जो वाइडेको चुनावी क्याम्पेनबाट सिकेको भन्दै आफ्नो चुनावी अभियान अहिले राष्ट्रपतिको चुनाव जस्तो देखिएको उनले तर्क गरे।

राजा कि राष्ट्रपतिमा छान्न सकेनन्

यही कार्यक्रमको एक सेग्मेन्ट छ धर्मसंकट। र्यापिड फायर राउन्ड शैलीको कार्यक्रममा २ जनाको नाम लिएर मन पर्ने एक जना छान्न लगाउने गर्छन् कार्यक्रम सञ्चालकले। त्यसमा बालेनको राजनीतिक दृष्टिकोण प्रष्टिनसक्ने तीन प्रश्न सोधियो जसमा एकको कारण सहित प्रस्ट जवाफ दिए। बाँकी २ प्रश्नको प्रस्ट जवाफ दिन सकेनन्।

पहिलो अप्सन थियो मेयर उम्मेदवार केशव स्थापित र सिर्जना सिंहमध्ये कसलाई छान्ने। उनले भने' म भोटै हाल्दिन। दुबैजनाबाट काठमाडौँ बन्छ भन्ने आशै छैन।' उनी नो भोटको पक्षमा गए।

अनि उनकै विधाका २ जना र्यापर युनिक पोयट र साकार अधिकारीमध्ये दुवै बराबर हुन् भन्दै उनले युनिक पोयट छाने। कारण युनिक पोयटको लेखाइमा फिलोसफी हुने उनले तर्क गरे।

ऋषि धमला कि रबी लामिछाने भन्ने प्रश्नमा उनले लामिछाने छाने। कारण दिए लामिछानेको सोच्ने, बोल्ने तरिका।

अनि आयो राजनीतिक प्रश्न।  प्रश्न थियो एमाले अध्यक्ष केपी ओली कि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ? उनी लिङदेनको पक्षमा लागे। कारण दिए 'राजेन्द्र टेस्डेड हुनुहुन्न। बोलीमा असल देखिन्छन्।'

अर्को पनि राजनीतिक प्रश्न। संघियतासहितको नेपाल कि संघियताविनाको नेपाल? उनी सङ्घको पक्षमा देखिए तर प्रदेश नभए राम्रो भन्ने धारणा राखे।

टेलिभिजन स्क्रिनमा २ जनाको तस्बिर आयो पूर्व राजा ज्ञानेन्द्र शाह अनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी। यसमा भने उनले प्रस्ट जवाफ दिन सकेनन्। गोलमटोल लामै गन्थन चल्यो। उनले सबै तन्त्र राम्रो हो, काम राम्रो हुनुपर्छ' भन्दै उत्तर छलिरहे।

उनले लोकतन्त्र मानेरै उम्मेदवार बनेको बताए। अनि मैले छानेर के हुन्छ र भन्दै उनले राजा र राष्ट्रपतीयमध्ये कसैलाई छानेनन्।

'सोचाई फरक हुनुपर्छ। जुन तन्त्र आए पनि केही फरक पर्दैन। दुवैको विशेषता राम्रो छ। दुवैको काम हेर्न पाएको छैन' भने। तर ज्ञानेन्द्र शाहले २०६१ तिर प्रत्यक्ष शासन गरेर काम देखाएकै थिए। भण्डारीको यो दोस्रो कार्यकाल हो।

कार्यक्रम सञ्चालकले सोधे' राष्ट्रपतिको जनस्रोत विज्ञ भएकाले भन्न नसकेको हो ? उनले भने'त्यस्तो हैन।'

पल कि अनमोलमा अनमोल भन्ने प्रश्नमा उनले अभिनय राम्रो भन्दै अनमोल केसी छाने। अनि हिन्दु राष्ट्र कि धर्मनिरपेक्ष भन्ने प्रश्नमा पनि उनी लडखडाए। अहिले नेपाल संविधानतः धर्मनिरपेक्ष राष्ट्र हो। उनले आफू हिन्दु- बुद्धिस्ट भएको र व्यवहारमा आउनुपर्यो भन्दै प्रस्ट जवाफ दिन सकेनन्।

वैशाख २५, २०७९ आइतबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।