कांग्रेसको चर्को आलोचना किन? ओली भन्छन्- 'महाभारतमा कौरवको चर्चा हुन्छ, उनको सेनाको चर्चा हुँदैन'

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनबाहेक अरूसँग निर्वाचन आचारसंहिताबारे छलफल नगरेको बताएका छन्। स्थानीय तहको निर्वाचनका सन्दर्भमा एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
'अरू दलले हामीसँग छलफल गरेको छैन सहमति गर्दैनौं भन्दा तपाईंहरूले मान्नपर्छ, निर्वाचन आयोगले भनेपछि मान्ने पर्छ भन्ने जवाफ निर्वाचन आयुक्तले दिए। हाम्रो दलले पालना गर्नैपर्छ भनेपछि सहमति गर्नुपर्छ भन्ने आवश्यकता देखेन। चिह्नमा कांग्रेसको रुखको रङ्ग हरियो छ भनेर सूर्य पनि हरियो बनाउने निर्वाचन आयोग। यो मुद्दा हाल्नुपर्ने विषय हो', उनले भने।
यस्तै निर्वाचन आयुक्त एमालेले सिफारिस गरेको विषयमा पनि उनले आयोगमा मान्छे पठाउँदा आफ्नो नभएर राम्रो मान्छे पठाउने उनले बताए। 'उहाँहरूको योग्यताको बारेमा उहाँहरूलाई सोध्नुस्। संवैधानिक परिषद्मा सुनवाइ भएर जान्छ', उनले भने।
उनले आयोगले अरू दलको चुनाव चिह्नमा प्रचार गर्न नहुने भने पनि पालिका पालिकामा सभा गर्दै मत माग्दै हिँडेको पनि उनले आरोप लगाए। 'शेरबहादुरजीले अर्को दलको उम्मेदवारलाई भोट माग्न हुने, तल्ला तहका कार्यकर्ताले माग्न नहुने? प्रचण्डजीले प्रकाशमानजीको श्रीमतीलाई भोट माग्न हुने, कार्यकर्ताले माग्न नहुने? उहाँहरूको व्यवहारप्रति कालो चस्मा होइन पट्टी लगाएर बसेको छ', उनले भने, 'अर्काको चुनाव चिह्नमा प्रचार गर्न नहुने भनेको छ निर्वाचन आयोगले। पालिका पालिकामा सभा गर्दे मत माग्दै हिँडेका छन्। मत माग्न चाहिँ गठबन्धन मान्यता हुने, अघि-पछि गठबन्धन चिन्दैनौं भन्ने? सदस्यताको सम्पूर्ण लिस्ट निर्वाचन आयोगसँग छ? सबै कार्यकर्ताको रेकर्ड राखेको छ? म आयोगसँग आग्रह गर्दछु यस्ता व्यवहार अन्त्य गर्रौ।'
यस्तै 'कांग्रेसको चर्को आलोचना भयो नि' भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘महाभारतको युद्धमा कौरव पक्षमा को-को सेना थिए। ती सबै सेनाहरूको हिसाब किताब दुर्गुणको बारेमा महाभारतमा खासै चर्चा हुँदैन कौरवको बारेमा चर्चा हुन्छ। दुर्योधनका बारेमा चर्चा हुन्छ। यहाँ पनि त्यस्तो भयो होला।’
वैशाख २५, २०७९ आइतबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।